डडेल्धुरा बस दुर्घटनाः मृतकको संख्या पाँच पुग्यो, १२ जना घाइते

काठमाण्डु टुडे २०८१ असोज ३० गते १२:०६ मा प्रकाशित

काठमाण्डु, ३० असोज– आज (बुधबार) बिहान डडेल्धुरामा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ। घटनास्थलमा बुधबार बिहान ११ बजे थप एकजनाको शव फेला परेसँगै मृतकको संख्या पाँच पुगेको प्रहरीले जानकारी दिएको छ ।

बैतडीको पुर्चौडी नगरपालिका–१० की ६० वर्षीया गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिएका छन ।

खोज तथा उद्धारका क्रममा उनको शव आज बिहान ११ बजेतिर मात्रै फेला परेको प्रहरी निरीक्षक बमले जानकारी दिएका छन । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको पवनदुत यातायातको ना-८ ख १०७८ नम्बरको बस राति साढे १२ बजे डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु भएका अन्य चारजनाको पनि यसअघि नै सनाखत भइसकेको छ। पुर्चौडी–३ बस्ने ४५ वर्षीया जैमती बोहरा, दुई दिनको शिशु , २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिर्एको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरासहित १२ जनालाई थप उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक बमले जानकारी दिए ।

दुर्घटनामा अन्य ११ जना पनि घाइते छन्। बस सडकबाट झण्डै तीन सय मिटर खसेको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us