केपी ओलीप्रति लक्षित गर्दै विश्वप्रकाशले भनेः आफ्नो पार्टी कार्यालय आफैं बनाऊ, दान लिने भए देशको ऋण तिर्न लिऊ

काठमाण्डु टुडे २०८१ असोज ३० गते ९:३५ मा प्रकाशित

काठमाण्डु, ३० असोज– काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले एमाले केन्द्रीय कार्यालय निर्मणका लागि १० रोपनी १४ आना जग्गा दिएको र भवन पनि उनैले बनाइदिन लागेको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत उनले पार्टी कार्यालय निर्माणमा आफ्नै पार्टीका सदस्यहरुबाट सहयोग लिनुपर्ने बताएका छन् । मुठ्ठी बटारेर आकाशमा उचाल्नेहरुले आफ्नो केन्द्रीय कार्यालय बनाउन एकएक मुठ्ठीको योगदान गर्नुपर्ने शर्माको भनाइ छ ।
पार्टी कार्यालय निर्माणमा ‘मेरो पनि योगदान छ’ भनेर प्रत्येकले अपनत्व बोध गर्न पाउनुपर्ने उनले उल्लेख गरेका छन् ।

‘जहाँसम्म पार्टी कार्यालयहरुको कुरा छ । त्यो चाहिं मुलत पार्टी सदस्यहरुले मिलेर बनाउनुपर्छ । मुठ्ठी बटारेर आकाशमा उचाल्नेहरु प्रत्येकले आफ्नो केन्द्रीय कार्यालय बनाउन एकएक मुठ्ठीको योगदान गर्न पाउनुपर्छ’, शर्माले लेखेका छन्, ‘भवन बलियो भावनाहरु गाँसेर हुनुपर्छ । मेरो पनि योगदान छ भनेर प्रत्येकले अपनत्व बोध गर्न पाउनुपर्छ ।’

शर्माले निजी क्षेत्रलाई थप प्रोत्साहित गर्दै देशको ढुकुटीमा राजस्व बढाउने र रोजगारी सृजनाको दायरा विस्तारित गर्नेकार्य यतिबेला राज्यको विशेष प्राथमिकतामा रहनुपर्नेमा जोड दिए ।

सामाजिक उत्तरदायित्वअन्तर्गत पार्टी कार्यालयको निर्माण नभई निजी क्षेत्रलाई राज्यले भूकम्प प्रभावितलाई हजार घर बनाइदिन, गाउँमा शैक्षिक संस्था र स्वास्थचौकीका भवनहरु बनाउन,
बाढीले नबग्ने सय पुल, एउटा आकर्षक रंगशाला बनाउन लगाउनुपर्ने शर्माले बताए । अझ ठूलो दान लिने दिने भए ‘देशलाई ऋणमुक्त बनाउन साथ देउ’ पनि भन्न मिल्ने शर्माले उल्लेख गेर ।

उनले काँग्रेसले सानेपास्थित पार्टी केन्द्रीय कार्यालय आफैंले बनाएको पनि स्मरण गरे । स्वदेश र विदेशमा रहेका हरेक काँग्रेस सदस्यले केन्द्रीय कार्यालय ‘हामीले बनाएका हौं’ भनेर गर्व गर्ने उनले बताए ।

‘कयौं व्यवसायीको स–सानो धन पनि यो निर्माणमा सरिक छ ितर मुलतः यसमा पार्टी सदस्यको ‘मन’ जोडिएको छ । श्रमिक, किसान, सयौं शुभचिन्तक एवं समर्थकको अपनत्व र स्वामित्व यसमा छ । त्यसबेलाका ४ लाख बढी क्रियाशिल सदस्यको सदस्यताको रकम यसमा प्रयोग भएको छ’, शर्माले भनेका छन् ।’

सामाजिक न्यायसहितको उदार अर्थव्यवस्थाको नीतिलाई फराकिलो अभ्यास काँग्रेसले अघि बढाएको र जसले गर्दा निजी क्षेत्रको तीव्र विकास सहज भएको दाबी उनले गरे ।
भारत र बंगलादेशलाई बिजुली बेच्न सक्ने अवस्थामा देशलाई पुर्याउन निजी क्षेत्रको उल्लेखनीय भूमिका रहेको भन्दै उनले एयरलाइन्सहरु, दर्जनौं बैंक र वित्तीय संस्थाहरु, कयौं अस्पताल, सयौं उधोग, शैक्षिक प्रतिस्ठानहरु, सञ्चार माध्यमहरु, होटलहरु आदिमा निजी क्षेत्रले खर्बौं रुपैयाँ लगानी गरेको र त्यसबाट सिंगो रास्ट्र लाभान्वित भएको चर्चा गरे ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us