उदयपुर, ३० असोज- उदयपुरको लिमचुङबुङ गाउँपालिका-३ की २० वर्षीया निङमा याङजी शेर्पाको आत्महत्या प्रकरण शंकास्पद देखिएको छ ।
दसैं टीकाको भोलिपल्ट २७ असोजको राति घरमै झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो ।
निङमाको माइती पक्षले भने हत्या भएको दाबी गरेको छ । निङमाको स्थानीय क्षेत्र भुजेलसँग चार महिनाअघि मात्र विवाह भएको थियो ।
मृतक शेर्पा र भुजेलको सामाजिक परम्पराअनुसार गत १० जेठमा विवाह भएको थियो ।
मृतकका बुबा गञ्जु शेर्पाले ज्वाईं र उनको परिवारले मिलेर हत्या गरेको भन्दै उदयपुर प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
छोरीको हत्या नै भएको भन्दै शेर्पाले आत्महत्या दुरुत्साहनको जाहेरी प्रहरीमा दिएका छन्।
निङमा घाँटीको डोरी फुकाएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
डोरी फुकाएको अवस्थामा भेटिएकाले निङमाले आत्महत्या गरेको नभई हत्या भएको दाबी माइती पक्षको छ । तर, मृतकका श्रीमान क्षेत्रले भने झुण्डिएको देखेपछि बचाउन सकिन्छ कि भन्ने लागेर डोरी काटेको बताएका छन् ।
उनी दसैं टीकाको दिन श्रीमानसँगै माइत आएर घटनाको दिन आइतबार घर फर्किएकी थिइन् ।
उदयपुर प्रहरीका सूचना अधिकारी डीएसपी राजन चापागाईले हत्या वा आत्महत्या के हो भन्नेबारे पोष्ट मार्टम रिपोर्टपछि मात्र खुल्ने बताए ।
प्रहरीले मृतकको शव मंगलबार जिल्ला अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाएको छ ।
घटनाबारे अनुसन्धान सुरु भइसकेको उनले जानकारी दिए ।
यसैबीच माइती पक्षको जाहेरीका आधारमा प्रहरीले मृतकका श्रीमान भुजेललाई नियन्त्रणमा लिएको छ ।