बाइकमा अपर मुस्ताङ जाँदै गरेका युवकको कारमा ठोक्किएर ज्यान गयो

काठमाण्डु टुडे २०८१ असोज २९ गते १९:२५ मा प्रकाशित

मुस्ताङ, २९ असोज- मुस्ताङमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

पोखराबाट लोमान्थाङतर्फ गइरहेको बा१प ४२१० नम्बरको मोटरसाइकल र जोमसोमबाट पोखरातर्फ जाँदै गरेको ना१च ७६९२ नम्बरको कार थासाङ गाउँपालिका–२ मार्फा नजिकै थालेखोलामा मंगलबार साँझ ठोक्किएका प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक आरु चनौटे-९ गोरखाका ३३ वर्षीय सञ्जय खड्काको मृत्यु भएको हो । 

मुस्ताङ प्रहरी प्रमुख डिएसपी सूर्यबहादुर बोगटीका अनुसार मृतक खड्का अपर  मुस्ताङ घुम्न काठमाण्डूबाट जाँदै थिए ।

दुर्घटनाबाट गम्भीर घाइते भएका खड्कालाई मुस्ताङ अस्पतालमा पुर्‍याइएकामा चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए ।

डिएसपी बोगटीले कार चालक  सुन्दर ट्वाटीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाइएको जानकारी दिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us