भाटभटेनी सञ्चालक गुरुङसँग पार्टी कार्यालय बनाउन प्रभु साहले मागे जग्गा

काठमाण्डु टुडे २०८१ असोज २९ गते १७:५२ मा प्रकाशित

सिरहा, २९ असोज- आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले पार्टी कार्यालय निर्माणका लागि भाटभटेनी सन्चालक मीनबहादुर गुरुङसँग पार्टी कार्यालय निर्माणका लागि जग्गा माग गरेका छन् ।

दसैं, तिहार र छठ पर्वका अवसरमा मंगलबार सिरहाको गोलबजारमा सो पार्टीको सिरहा जिल्ला कमिटीद्वारा आयोजित शुभकामना तथा भेटघाट कार्यक्रममा साहले पार्टी केन्द्रीय कार्यालय निर्माणका लागि गुरुङसँग जग्गा माग गरेका हुन् ।

अर्बौंको सम्पत्ति भएको र एमालेलाई जग्गा दान गरी पार्टी कार्यालय बनाइदिने भाटभटेनी संचालक गुरुङले आफूहरुको जस्तो गरिब पार्टीको कार्यालय बनाइदिए हुने उल्लेख गरे ।

अर्बौंको सम्पत्ति एक अर्बपति पार्टीलाई दान गरिएकोमा आपत्ति जनाउँदै साहले गरिब, असहाय र निमुखालाई मात्र दान गरिने उल्लेख गरे ।

प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री र मेयरहरु भएको पार्टीलाई कार्यालय बनाउन १०औं रोपनी जग्गा दान नभई खुलमखुल्ला घूस दिएको आरोप उनको थियो ।

लाखौं सदस्य भएको अर्बपतिको पार्टीले सदस्यहरूबाटै चन्दा उठाएर पनि पार्टी कार्यालय बनाउन सक्ने उनको भनाइ थियो ।

आफ्नो पार्टी कार्यालय समेत बनाउन नसक्ने एमालेबाट मुलुक समृद्ध हुन्छ भन्ने विश्वास गर्न नसकिने उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us