लेबनानमा रहेका नेपाली शान्ति सैनिक सुरक्षित छन्ः सेना

काठमाण्डु टुडे २०८१ असोज २९ गते १४:५८ मा प्रकाशित

काठमाण्डु, २९ असोज– नेपाली सेनाले लेबनानमा रहेका नेपाली शान्ति सैनिक सुरक्षित रहेको जनाएको छ ।

सैनिक प्रवक्ता गौरव केसीले सबै नेपाली सैनिक सुरक्षित रहेको बताए । उनीहरु सबै परिवार र सेनाको सम्पर्कमा रहेको पनि उनले स्पष्ट गरे ।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा हाल ८ सय ७७ नेपाली शान्ति सैनिक कार्यरत रहेको केसीले जानकारी दिए ।

‘नेपाली सेनाका ८ सय ७७ जना लेबनानमा शान्ति स्थापनार्थ तैनाथ छन्’, केसीले भने, ‘सबै सशुकल छन्, सम्पर्कमै छन् ।’

उनले नेपाली सेना सुरक्षित रहेकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको उल्लेख गरे । केसीले नेपाली सेना राष्ट्रसंघको निर्देशनमा परिचालित भएकाले राष्ट्रसंघ मुख्यालयले गर्ने निर्णयका आधारमा आगामी रणनीति तय हुने पनि बताए ।

इजरायली सेनाको हतियारधारी समूहले आइतबार बेलनानस्थित युनाइटेड नेशन इन्टरिम फोर्स इन लेबनान (युएनआईएफआइएल) का शान्ति सैनिकको क्याम्पमाथि आक्रमण गरेको थियो ।

आक्रमणप्रति नेपालसहित ३४ राष्ट्रले निन्दा गरेका छन् । त्यस्ता गतिविधि रोक्न र उक्त प्रकरणबारे अनुसन्धान गर्न ती देशले माग गरेका छन् ।

संयुक्त विज्ञप्ति जारी गरी निन्दा गर्नेमा नेपालसँगै अर्मेनिया, अष्ट्रिया, बंगलादेश, ब्राजिल, कम्बोडिया, चीन, साइप्रस, एलसाल्भाडोर, इस्टोनिया, फिजी, फिनल्यान्ड, फ्रान्स, घाना, ग्वाटेमाला, हंगेरी, इन्डोनेशिया, आयरल्यान्ड, इटाली, काजकिस्तान, कोरिया, लात्भिया, मलेसिया, माल्टा, मंगोलिया, नेदरल्यान्ड्स, पोल्यान्ड, कतार, सिएरा लियोन, स्पेन, श्रीलंका, टर्की, बेलायत, उत्तरी आयरल्यान्ड र तान्जनिया छन् ।

विज्ञप्तिमा ती देशले दक्षिणी लेबनान र मध्यपूर्वमा स्थिरता र शान्ति कायम गर्नु मुख्य उद्देश्य रहेको युएनआईएफआइएल मिशन र यसको गतिविधिलाई समर्थन रहेको उल्लेख गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us