काठमाण्डु, २९ असोज– गृहमन्त्री रमेश लेखकले बेलाबेलामा सुरक्षा निकायले गर्ने कमजोरीका कारण मन्त्री र प्रधानमन्त्रीले गाली खानुपर्ने अवस्था रहेको बताएका छन् ।
६९औँ प्रहरी दिवसका अवसरमा मंगलबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा मन्त्री लेखकले कमजोरी नहुने गरी काम गर्नतर्फ सचेत हुन प्रहरी नेतृत्वलाई निर्देशन दिए ।
‘सुरक्षा निकायबाट हुने कमीकमजोरीका कारण नागरिकबाट ठूलो आलोचना हुन्छ मन्त्री वा सरकारको आलोचना हुने अवस्था छ’, लेखकले भने, ‘तसर्थ थप सचेतना, सतर्कता र व्यावसायिकताका साथ काम गर्न म निर्देशन गर्दछु ।’
गृहमन्त्री लेखकले प्रहरी संगठनको बृहत्तर हित र उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताए । राज्यको नागरिकसँग सम्पर्क सूत्र प्रहरी भएको भन्दै नेपाल प्रहरीको संस्थागत हित र दिगो उन्नतिका लागि आफ्नो सदैव सहयोगी भूमिका रहने विश्वास दिलाए ।
उनले संसद्को आगामी अधिवेशनबाट संघीय प्रहरी विधेयक पारित गरिने दाबी गरे । विधेयकमा प्रहरीको सुदृढीकरण गरी सेवाको विशिष्टीकरण, प्रहरी कर्मचारीको हित र कल्याणका नयाँ र उत्कृष्ट प्रावधानहरू पहिचान गरी विधेयकमा समाविष्ट गरिएको मन्त्री लेखकको भनाइ छ ।
गृहमन्त्री लेखकले संक्रमणकालीन न्याय निरुपण गर्दा सशस्त्र द्वन्द्वका समयमा मुत्युवरण गर्ने सुरक्षा निकायका व्यक्तिहरूको परिवारलाई पनि पीडितसरह परिपूर्ण दिने व्यवस्था गरिएको बताए ।