हर्क साम्पाङको ‘भण्डाफोर’ गर्ने भन्दै धरानका उपप्रमुखद्वारा पत्रकार सम्मेलन आयोजना

काठमाण्डु टुडे २०८१ असोज २९ गते १३:४९ मा प्रकाशित

धरान, २९ असोज–धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले प्रमुख हर्क साम्पाङले आफूलाई बाइपास गरी वडाअध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिएकामा आपत्ति जनाएका छन् ।

उनले मेयरले विगतदेखि नै विधि, प्रक्रिया र नियम कानूनको उल्लंघन गरेको र यसपटक पनि त्यसैको निरन्तरता स्वरुप वडाअध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिएको भन्दै पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

उपप्रमुख बेघाले आफ्ना धारणा सार्वजनिक गर्न अपराह्न ४ बजे धरानमा पत्रकार सम्मेलन आयोजना गरेको उनका एक सहयोगीले जानकारी दिए ।

‘मेयर साब निरन्तर रुपमा नियम, विधि र पद्धतिविपरीत मुढे पारामा चल्दै आउनुभएको छ’, उनले भने, ‘पछिल्लो पटक वडाअध्यक्षलाई कार्यबाहक दिने निर्णय पनि त्यसैको निरन्तरता हो ।’

साम्पाङले बिहीबार आफू बेलायत जाने भएपछि उपप्रमुख बेघालाई नदिई वडा नम्बर–११ का अध्यक्ष लोकेन्द्रकुमार फागुलाई आफ्नो अनुपस्थितिमा कार्यबाहक तोकेका छन् ।

असोज २८ गतेदेखि बेलायतबाट नफर्किएसम्मका लागि कामकाज गर्ने गरी फागुलाई कार्यबाहकको जिम्मेवारी निर्वाह गर्न पत्र लेखेर दिएका छन् ।

बेघाले साम्पाङको कार्यशैलीको विरोध गरेका कारण उनीहरुबीच राम्रो सम्बन्ध छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us