
रौटहट, २८ असोज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा प्रभु साहले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा मुलुकको समृद्धि कल्पना गर्नु हाँस्यास्पद हुने टिप्पणी गरेका छन् ।
आफ्नो गृहनगर रौतहटको मौलापुरमा सोमबार आयोजित दशैं, तिहार, छठलगायत चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
साहले भाटभटेनीका मालिकले पार्टी कार्यालय बनाईदिनुपर्ने एमाले नेतृत्वबाट देशको विकास कुनैपनि हालतमा हुननसक्ने ठोकुवा गरे ।
उनले भने- नेपाली जनता सधैं ठगिएका छन् । लोकतन्त्र भनिएको छ, तर खासमा देशमा लुटतन्त्र छ । दलतन्त्र छ । दलतन्त्रभित्र पनि ठूला दलको सिण्डिकेट छ ।’
उनले अहिलेको व्यवस्थाले मुलुकलाई निकास नदिने निश्चित् भैसकेको भन्दै तत्काल दलतन्त्रको विकल्प खोज्नुपर्ने बताए । उनले मुलुकमा तेस्रो जनआन्दोलन अपरिहार्य भएकोले आफूले गत चैत्रमा काठमाडौंमा आयोजित पार्टीको बृहत्त आमसभामार्फत नै तेस्रो जनआन्दोलनको उद्घोष गरेको स्मरण गराए ।
उनले अहिलेका प्रधानमन्त्री ओलीबाट देशको समृद्धि हुनै नसक्ने जिकिर गरे । उनले भने,‘व्यवसायीको पैसामा आफ्नो पार्टी कार्यालयको लागि जग्गा दान लिने र भवनपनि व्यवसायीले नै बनाईदिने भएपछि एमाले नेतृत्वबाट अब देशको विकास हुन्छ र जनताले सुख पाउँछन् भनेर सोच्नुपनि मुर्खता हुनेछ ।’ उनले भ्रष्ट नेतालाई अब गाउँगाउँबाट लखेट्ने बेला आईसकेको जिकिर गरे । उनले भने,‘भ्रष्टाचारीलाई अब गाउँबाट लखेट्ने बेला आयो । यी भ्रष्ट नेताकै कारण देशको विकास हुन सकेन ।’