टर्किस एयरका पाइलटको जहाज उडाइरहँदा आकाशमै मृत्यु

काठमाण्डु टुडे २०८१ असोज २४ गते १२:५४ मा प्रकाशित

काठमाण्डू, २४ असोज- अमेरिकाको सिएटलबाट टर्कीको इस्तानबुल उडेको टर्किस एयरलाइन्सको जहाजका क्याप्टेनको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार मंगलबार राति इस्तानबुलका लागि उडेको ए३५० एयरबसका क्याप्टेन ५९ वर्षीय इल्सिहिन पेहलिभानको मृत्यु भएपछि आकस्मिक अवतरण गरिएको छ ।

करिब ८ घण्टा जहाज उडानपछि उनी अचेत भएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

जहाजमै उनलाई होशमा ल्याउने प्रयास गरिएको भए पनि उक्त प्रयास सफल भएन ।

उत्तरी क्यानडाको बाफिन आइल्यान्ड क्षेत्रमा उडान भइरहेका बेला क्याप्टेनको मृत्यु भएपछि को-पाइलटले अमेरिकाको जे.एफ.के विमानस्थलमा जहाज आकस्मिक अवतरण गराएको समाचारमा उल्लेख छ ।

एयरलाइन्सले क्याप्टेनको मृत्युको कारण स्पष्ट नगरे पनि उनको नियमित रूपमा स्वास्थ्य जाँच हुंदै आएको जनाएको छ ।

  पछिल्लो परीक्षणका क्रममा स्वास्थ्यमा कुनै समस्या नदेखिएको दाबी एयरलाइन्स व्यवस्थापनको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us