
काठमाण्डु, २३ असोज– सताको कारोबारको चौथो दिन आज बुधबार सेयर बजार परिसुचक (नेप्से)सामान्य अङ्कले वृद्धि भएको छ । दसैँ अघिको अन्तिम कारोबार दिन आज बजार परिसूचक ४.८५ अङ्कले बढेर २ हजार ६ सय ६८ दशमलव १७ को विन्दुमा पुगेको नेप्सेले जानएको छ ।
आज बजारमा ३ अर्ब ७६ करोड रुपैयाँ बराबरको ८३ लाख १२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । आज बजारमा कारोबार भएकामध्ये १ सय ३० कम्पनीको सेयरमूल्य बढेको छ ।
१०२ कम्पनीको सेयरमूल्य घट्दा ११ कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा आज १३ वटा उपसूचकमध्ये विकास बैंक, इन्भेस्टमेन्ट, लाइफ इन्स्योरेन्स र ट्रेडिङ उपसूचकमा गिरावट आएको छ भने बाँकी ९ वटा उपसमूहमा सुधार देखिएको छ । उत्पादन र प्रशोधनमूलक उपसूचकमा सर्वाधिक १.०५ प्रतिशतको वृद्धि देखिएको छ ।
घटबढ भएका सबै सूचकहरूमा एक प्रतिशत भन्दा कमको उतारचढाव भएको छ । बजारमा आज पनि मध्य सोलु हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । मंगलबार पनि यसमा सकारात्मक सर्किट लागेको थियो ।
अपर स्याङ्जे र राप्ती हाइड्रोपावरको मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेका छन् । थ्रिस्टार हाइड्रोको सेयरमा भने नकारात्मक सर्किट लागेको छ । बजारमा आज नेपाल फाइनान्स लिमिटेडको सर्वाधिक शेयर कारोबार भयो ।