दसैँ बिदामा दिइने सेवाबारे बैंकहरूले आफू अनुकूल निर्णय गर्न सक्ने

काठमाण्डु टुडे २०८१ असोज २३ गते १२:५० मा प्रकाशित

काठमाण्डु, २३ असोज– नेपाली हरुको महान पर्व दसैँ बिदाको समयमा बैंकको शाखा खुला गर्ने कि नगर्ने भन्ने निर्णय गर्न बैंकहरु स्वतन्त्र भएका छन् । बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकर्सहरुको छाता संस्था नेपाल बैंकर्स एसोसिएसनले यसबारे कुनै निर्णय नगरेका कारण बैंकहरू यसमा स्वतन्त्र भएका हुन ।

आज बिहीबारदेखि दसैँ बिदा सुरु हुँदैछ । फूलपातीदेखि द्वादशीसम्म पाँच दिन सार्वजनिक बिदा दिनेगरी स्वीकृत भएको क्यालेन्डर अनुसार अब कम्तीमा पनि पाँच दिन सरकारी कार्यालयहरू खुल्ने छैनन् ।

राष्ट्र बैंकले समेत बैंक तथा वित्तीय संस्थालाई उक्त अवधिभर बिदा दिनेगरी क्यालेन्डर बनाएको छ । यो अवधिमा बैंकका शाखा खोल्न बाध्य नपार्ने नीति राष्ट्र लिएको हो ।

यसअघि प्रत्येक त्रैमासको २५ गतेदेखि ३० गतेसम्म सबै राजश्व काउन्टरहरू खुला गर्नैपर्ने व्यवस्था थियो । दसैँका लागि यो व्यवस्था समेत निलम्बन गरिएको छ ।

मंगलबार जारी गर्दै राष्ट्र बैंकले यो त्रैमासका हकमा यो व्यवस्था लागु नहुने जनाएको हो । सूचनामा असोज २९ र ३० गते नियमित रूपमै बैंक खुल्ने भएकोले त्योभन्दा अगाडिका तीन दिन काउन्टर खुला गर्नु नपर्ने बताएको छ ।

सार्वजनिक बिदा दिनेगरी क्यालेन्डर स्वीकृत गरेकोले यो समयमा बैंकहरुलाई शाखा खोल्न केन्द्रीय बैंकले बाध्य नपारेको राष्ट्र बैंकका सह–प्रवक्ता डिल्लीराम पोखरेलले जानकारी दिएका छन ।

उनले भने, ‘आफ्ना ग्राहकलाई कसरी सेवा दिने भन्ने उहाँहरूले निर्णय गर्ने कुरा हो । सार्वजनिक बिदाको समयमा बैंकहरुलाई शाखा जसरी पनि खोल भन्नु उपयुक्त हुँदैन । उहाँहरूले चाहेमा सञ्चालन गर्न सक्नुहुन्छ, ‘अहिले मोबाइल बैंकिङ र अनलाइन कारोबार पनि बढेको छ, शाखा खोलेरै सेवा दिनुपर्छ भन्ने पनि छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us