राहतको चेक बुझेको बुझ्यै छन् प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ असोज १८ गते १९:४७ मा प्रकाशित

काठमाण्डु, १८ असोज– बाढीपहिरो प्रभावितका लागि निजी तथा सरकारी वित्तिय संस्थाले शुक्रबार एकै दिन तीन करोडभन्दा बढी रकम सहयोग गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीमार्फत उनीहरुले दैवी प्रकोप उद्धार कोषमा उक्त रकम हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सिंहदरबारमा फरकफरक समयमा तीन करोडभन्दा बढीको चेक बुझाइएको हो ।

कोषमा कृषि विकास बैँकले १ करोड ५० लाख, नागरिक लगानी कोषले ५१ लाख, नेपाल एसबिआई बैँकले २५ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनले ३१ लाख, नेपाल पूर्वाधार विकास बैँकले २५ लाख, ओरियन्टल इन्स्योरेन्सले १५ लाख र सिमेक्स इन्क प्रा।लि. (बिवाइडी) का प्रतिनिधिले ५१ लाख रुपैयाँका चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका उनको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले बाढीपहिरो र डुबानका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै प्राप्त सहयोगले राहत वितरणमा योगदान पुग्ने बताए । सहयोगका लागि उनले सबै संस्थालाई धन्यवाद दिए ।

मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले कोषमा एक अर्ब जम्मा गर्ने निर्णय गरेको थियो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us