
काठमाण्डु, १६ असोज– विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
बैंकले बुधबार सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेटः अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव’ विषयक प्रतिवेदनले उक्त प्रक्षेपण गरेको हो ।
गत वर्षको तुलनामा यो वर्ष उच्च पर्यटक आगमन, जलविद्युत् र धान उत्पादनमा वृद्धिले आर्थिक वृद्धिदरमा सुधार आउने विश्व बैंकको अनुमान छ ।
विश्व बैंकले गत आर्थिक वर्षमा ३.९ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । नेपाल सरकारले चालु आर्थिक वर्षमा ६ प्रतशितको आर्थिक वृद्धि हुने अनुमान गरेको छ ।
यस्तै एसियाली विकास बैंक (एडिबी) ले भने ४.९ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको थियो ।
प्रतिवेदनले केन्द्रीय बैंकको लचक मौद्रिक नीति र नियामकीय प्रावधानहरुमा गरिएको सहजीकरणका कारण नेपालको आर्थिक वृद्धिमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहने औंल्याएको छ ।