
काठमाण्डु, ७ असोज– सेयर बजार परिसूचक (नेप्से) ५९ अंकले घटेको छ । आज सोमबार २६०७ बिन्दुबाट सुरु भएको कारोबार लगातार ओरालो लाग्दै परिसूचक २५२९ बिन्दुमा झरेको हो । घटेको बजारमा कारोबार रकम पनि कम भएको छ ।
आज कुल ३२९ कम्पनीको १ करोड ३५ लाख ३५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ६६ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । सोमबार २२९ कम्पनीको सेयर मूल्य घटेको छ ।
१४ कम्पनीको बढ्दा एक कम्पनीको मूल्य भने स्थिर रह्यो । आज कारोबार रकमका हिसाबले नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रह्यो । यसको २१ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ ।
दोस्रो नम्बरमा रहेको सीईडीबी हाइड्रोपावरको १३ करोड ३९ लाख रुपैयाँको कारोबार भएको पनि नेप्सेले जानकारी दिएको छ । आज हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतले बढ्यो ।
एक्सले विकास बैंकको ८ प्रतिशतले बढेको छ । बढेका अन्य कम्पनीहरूको मूल्य ६ प्रतिशत पनि छोएको छैन ।