काठमाण्डु, ६ असोज– सहकारी बचत ठगीको विषयमा सञ्चारमाध्यममा आएका समाचार फेसबुकमा शेयर गर्दा पार्टीले आपत्ति जनाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी भरतपुर महानगरपालिका वडा नम्बर १० का सचिव शालिकराम दुवाडीले पदबाट राजीनामा दिएका छन ।
उनी साहारा चितवन पीडित संघर्ष समितिका संयोजक समेत हुन । नारायणघाटमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको ८५ करोड रुपैयाँ अपचलन गरेर बन्द भएपछि २ वर्षअघि संघर्ष समिति बनेको थियो ।
१० हजार एक सय १२ जना बचतकर्ताको नेतृत्व गर्दै आएका दुवाडीले सहकारी ठगीका विषयमा सञ्चारमाध्यममा आएका समाचार फेसबुकमा शेयर गर्दा पार्टीभित्रबाट आपत्ति जनाइएपछि साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको उनले जानकारी दिएका छन ।
दुवाडीले पार्टीका केन्द्रीय सभापति, जिल्ला, क्षेत्र, महानगर र वडाका सभापतिहरूलाई सम्बोधन गरी लेखिएको राजीनामा पत्रमा सहकारी पीडितको हकका लागि काम गर्दा विगतमा पनि राजीनामाको दबाब आएको बताएका छन ।
उनले भने, ‘विगत १५ महिनाअगाडि पनि सिआइबीमा पत्र लेख्ने क्रममा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र जिल्ला समितिले दुई चार महिना पछाडि सारौं भन्नुभयो। तर हामी पीडित अगाडि बढि नै रह्यौं ।
उद्देश्य सम्पूर्ण पीडितको रकम उठाउनु नै थियो, ‘आज छानबिन समितिको प्रतिवेदन सार्वजनिक भई आउँदा के भयो सबैलाई जानकारी नै छ। हिजो, आज मिडियामा आएका समाचार मेरो फेसबुकमा सेयर गरेँ ।
यसमा केही साथीहरूको आपत्ति रह्यो। तसर्थ लाखौं सहकारी पीडितलाई साक्षी राख्दै साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको छु।’उनले संघर्ष समितिमा रहँदा पार्टीभन्दा माथि उठेर पीडितको रकम उठाउन अहोरात्र खट्दै सहकारी ठगको सम्पति रोक्का गर्न प्रहरीलाई सघाएको पनि बताएका छन ।