देश झापाली एमालेले चलाइरहेका छन् तर कम्युनिष्टहरूको बाटोबाट नेपाल बन्दैन: सिटौला

काठमाण्डु टुडे २०८१ असोज ६ गते १४:१९ मा प्रकाशित

काठमाण्डु, ६ असोज– कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले एमाले र माओवादीले देखाएको बाटोबाट देश विकास नहुने दाबी गरेका छन ।

शनिबार कांग्रेस झपा–काठमाडौं सम्पर्क समितिले बत्तिसपुतलीमा गरेको कार्यक्रममा बोल्दै राष्ट्रिय सभामा कांग्रेस दल नेतासमेत रहेका सिटौलाले यस्तो बताएका हुन ।

उनले भने, ‘चाहे माओवादीसँग वा एमालेसँग सहकार्य भएको अवस्था होस्, उनीहरूले देखाएको बाटोमा नेपाल हिँडेर सफल हुन्छ भन्ने मलाई विश्वास छैन ।’ उनले कांग्रेसले देखाएको बाटोमा एमाले र माओवादीलाई हिँडाउन सक्यो भने मात्र नेपाल सफल हुने पनि बताएका छन ।

उनले भने, ‘उहाँहरूलाई बाटो देखाउने गरी हाम्रो नीतिचाहिँ बनाउनुपर्छ, तयार हुनुपर्छ। सबैलाई सहमतिमा जुटाएर संविधान संशोधनदेखि आर्थिक प्रगतिका लागि काम गर्न सक्छौं ।’ उनले देश बनाउने कांग्रेसले नै भएकोले मनोबल उच्च बनाउन उनले कार्यकर्ताहरूलाई आग्रह समेत गरेका छन ।

उनले भने, ‘प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्रीलगायत झापा एमालेको हुनुहुन्छ, ‘हाम्रो पनि संगठनको हिसाबले महामन्त्री विश्वप्रकाश शर्मा झापाकै हुनुहुन्छ। तर देशको पावर हेर्दा खर्लप्पै एमाले झापाको छ।’

सँगसँगै २०८४ को चुनावसम्म एमालेसँगै जाने भए पनि चुनावमा भने कांग्रेसको प्रतिस्पर्धा एमालेसँगै हुने पनि बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us