काठमाण्डु, ५ असोज– एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले मदन भण्डारी फाउन्डेसनले राष्ट्रिय राजनीतिमा सही राजनीति दिशा निर्देश गर्नेगरी अगाडि बढ्नुपर्ने बताएका छन ।
आज (शनिबार) ललितपुरको जाउलाखेलमा मदन भण्डारी फाउन्डेसनको रजत जयन्ती अवसरमा गरिएको मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रममा बोल्दै पोखरेलले यस्तो बताएका हुन ।
उनलेजबज नेपालको मौलिक राजनीतिक सिद्धान्त भएको पनि बताएका छन । उनले भने, ‘हामीले के कति उपलब्धि हासिल गर्यौँ, के के हासिल गर्न सकिएन त्यसको मूल्याङ्कन गर्नुपर्छ ।
मदन भण्डारी फाउन्डेसन पार्टी होइन तर पनि राष्ट्रिय राजनीतिमा सही राजनीति दिशा निर्देश गर्ने विषयमा सूत्रबद्ध रूपमा भूमिका खेल्नुपर्छ । अहिलेका चुनौतीहरूलाई पहिचान गरी वैचारिक हिसाबले दिशानिर्देश गर्ने काममा पनि आगामी दिनमा योगदान गर्नुपर्छ ।’
उनले जनताको बहुदलीय जनवाद स्थापित भएपछि पनि बेला बेला आएका चुनौतीहरूलाई पनि सम्झिनुपर्ने पनि बताएका छन । उनले भने, ‘जनताको बहुदलीय जनवाद चुनौतीहरूको सामना गर्दै यहाँसम्म आएको हो ।
धेरै कुरा यसका शास्त्रीय पाटाहरू पनि छन् । जननेता मदन भण्डारीलाई सम्मान गर्न मात्र यो विषय गाँसेको होइन । यसमा केही त्यस्ता तत्त्वहरू छन्, नेपालको सन्दर्भमा मार्क्सवादलाई प्रयोग गर्दा विकसित भएको विचार हो भनेर हामीले भन्दा यो विषयमा हामी दृढतापूर्वक वकालत गर्न सक्छौँ ।
यो विचार कहीँ कतैबाट सापट लिएको विचार होइन । यो विचार आफ्नै देशमा अभ्यास गरेर विकसित भएको विचार हो । मदन भण्डारीले यो विचारको प्रवक्ता र व्याख्याता बनेर कम्युनिस्ट आन्दोलनमा योगदान पुर्याउनुभयो, हामीले त्यो कुरालाई बिर्सनुहुँदैन ।’