काठमाण्डु, ४ असोज- प्रधानमन्त्री शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन् । बिहान साढे १० बजे नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली अमेरिका प्रस्थान गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीको टिममा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत छन् । प्रधानमन्त्री ओलीले ७ असोजमा कोलम्बिया विश्वविद्यालयमा ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा सम्बोधन गर्ने छन् । ८ असोजमा महासभाको साधारण बहसको उदघाटनसत्र र ९ असोजमा अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा ओली सहभागी हुनेछन् । ओलीले १० असोजमा राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । ११ असोजमा उनले हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्य : सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयको कार्यक्रमलाई पनि सम्बोधन गर्ने तालिका छ । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने छन् ।
अमेरिका बसाइमा ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेट्ने प्रयास उनको छ । तर मोदीले समय दिइनसकेका कारण त्यसको टुंगो लागेको छैन ।