क्यानडाले विदेशी विद्यार्थीको कोटा थप घटाउने

काठमाण्डु टुडे २०८१ असोज ३ गते १६:२९ मा प्रकाशित

काठमाण्डु, ३ असोज– क्यानडाले विदेशी विद्यार्थीको कोटा थप घटाउने भएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आउँदो वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अनुमतिपत्रमा थप कटौती गर्ने घोषणा गरेका गरेका छन ।

प्रधानमन्त्री ट्रुडोले सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट गर्दै यो वर्षदेखि क्यानडाले विदेशी विद्यार्थीको सङ्ख्या ३५ प्रतिशतले कम गरेकोमा आउँदो वर्षदेखि १० प्रतिशतले थप कटौती गर्ने घोषणा गरेका छन ।

प्रवासी विद्यार्थीले देशको अर्थतन्त्रमा टेवा पुर्‍याए पनि सङ्ख्या घटाउनु बाध्यता भएको उनले बताएक । क्यानडाको यो निर्णयले सबैभन्दा धेरै समस्या भारतीय विद्यार्थीलाई पर्ने देखिएको छ ।

हरेक वर्ष लाखौँ भारतीय विद्यार्थीहरू अध्ययन अनुमतिपत्र लिएर क्यानडा जाने गरेका छन । क्यानडा सरकारको आधिकारिक तथ्याङ्कअनुसार सन् २०२२ को तुलनामा सन् २०२३ मा सक्रिय विद्यार्थी भिसाको सङ्ख्या २९ प्रतिशतले बढेर १० लाख ४० हजार पुगेको थियो । यीमध्ये चार लाख ८७ हजार जना भारतीय विद्यार्थी थिए ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरूले क्यानेडियन विद्यार्थीहरूको तुलनामा तीन गुणा बढी शुल्क तिर्नुपर्छ । क्यानडा सरकारको २०२२ को रिपोर्ट अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूले त्यहाँको अर्थतन्त्रमा २२ अर्ब क्यानेडियन डलर योगदान गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us