श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईको स्नातक पास प्रमाणपत्र नभेटिएपछि समितिमा ‘हंगामा’

काठमाण्डु टुडे २०८१ असोज ३ गते १४:४१ मा प्रकाशित

काठमाण्डु, ३ असोज– श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको शैक्षिक योग्यताको प्रमाणपत्र नभेटिएपछि संसदीय सुनुवाइ समितिमा हंगामा मच्चिएको छ ।

राजदूत नियुक्तिका लागि चाहिने आवश्यक योग्यतामा स्नातक तह उत्तीर्ण अनिवार्य हुनुपर्ने हुन्छ । तर, राजदूत नियुक्तसम्बनधी निर्देशिकामा अनुसार समितिमा उनको स्नातक उत्तीर्णको प्रमाणपत्र फेला नपरेपछि अहिले यही विषयमा छलफल चलिरहेको समितिका एक सदस्यले जानकारी दिएका छन ।

यसअघि संसदीय सुनुवाइमा आफ्नो कार्ययोजना पेस गर्दै भट्टराईले आर्थिक कूटनीतिलाई केन्द्रबिन्दु बनाएर काम गर्ने बताएका थिए । लुम्बिनीको विकासका लागि थप आर्थिक सहयोग जुटाउन समेत प्रयास गर्ने उनले बताएका थिए । गत साउनको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो ।

संविधान अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था रहेको छ । त्यसबारे बिहीबार बसेको बैठकले आवश्यक निर्णय लिने ती सदस्यले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us