काठमाण्डु, ३ असोज– राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालले आज संविधान दिवसको विरोधमा सडक प्रदर्शन गरेको छ । ‘असोज तीन कालो दिन’ भन्दै सो पार्टीका नेता कार्यकर्ताहरुले माइतीघरमा विरोध प्रर्दशन गरेको हो ।
सो प्रदर्शनमा सरकारले सडक विस्तारबारे गरेको निर्णयको पनि उनीहरुले विरोध जनाएका हुन । प्रदर्शनपछि आयोजित सभामा अध्यक्ष महतोले संविधान पुनर्लेखनको माग गरेका छन् । यसअघि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मात्र संविधान पुनर्लेखनका लागि आवाज उठाउँदै आएका थिए । अहिले अध्यक्ष महतोले पनि संविधान पुनर्लेखनको माग अघि सारेका छन् ।
महतोले एकल राष्ट्रिय राज्यको चरित्रलाई बदलेर नेपाललाई बहुल राष्ट्रिय राज्यको रूपमा घोषणा गर्नु आवश्यक भइसकेको बताउँदै त्यसका लागि संविधान संशोधन नभई पुनर्लेखन गर्नुपर्ने माग राखेका छन ।
उनले भने, ‘सबै मुद्दालाई बेवास्ता गर्दै संविधान जारी गरेर यो दुनियाँको उत्कृष्ट संविधान भनियो तर त्यही संविधान जारी गर्ने पक्षले आज संशोधनको कुरा अपरिहार्य भन्दैछन्, ‘तर अब संशोधन गरेर मात्र पुग्ने स्थिति छैन । त्यसकारण संविधान पुनर्लेखन हुनु आवश्यक छ ।’