काठमाण्डु, ३ असोज– आज बिहिबार साँझ संविधान दिवसको अवसरमा काठमाण्डुको दरबारमार्गमा कन्सर्टको आयोजना गरिएको छ । नागरिक स्तरबाट आयोजित कन्सर्ट सञ्चालन गर्न सरकारले ‘समन्वय’ र ‘सहजीकरण’ गर्ने भएको छ ।
आज बिहीबार दिउँसो ४ बजेबाट सुरु हुने कन्सर्टमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन ।
प्रधानमन्त्री ओली साँझ ६ बजेर ३० मिनेटमा दरबारमार्गमा पुग्ने प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । कन्सर्टको सुरक्षामा नेपाल प्रहरीका २५ सय र सशस्त्रका २ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्न लागिएको छ ।
कन्सर्टको सुरक्षा कमान्ड काठमाण्डुका एसएसपी वसन्त रजौरेले गर्ने भएका छन् । कन्सर्ट स्थलमा एसपी नवराज अधिकारीलाई खटाउने गरी सुरक्षा योजना तयार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले जानकारी दिएका छन ।
सशस्त्र प्रहरी बलका २ हजारभन्दा बढी सुरक्षाकर्मीलाई कन्सर्टस्थलमा परिचालन गरिने सशस्त्रका प्रवक्ता डीआईजी कुमार न्यौपानेले जानकारी दिएका छन । पशुपतिनाथ बाहिनीका बाहिनी पति डीआईजी किशोर प्रधानले सुरक्षा कमान्ड गर्ने उनले जानकारी दिएका छन ।
‘नेशनल डे कन्सर्ट’ नाम दिइएको सो कन्सर्ट दरबारमार्गको मुख्य सडकमा आयोजना गर्नेगरी मञ्च बनाइएको छ । कन्सर्ट सञ्चालन गर्न आवश्यक समन्वय र सहजीकरण सरकारले गरेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले जानकारी दिएका छन ।