सैनिकमञ्चमा मनाइयो संविधान दिवस

काठमाण्डु टुडे २०८१ असोज ३ गते १२:१३ मा प्रकाशित

काठमाण्डु, ३ असोज– आज बिहिबार संविधान दिवसको अवसरमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । संविधान दिवसको मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

साथै संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ट अतिथिहरु पनि सहभागी भएका थिए । समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले साँस्कृतिक झाँकी प्रस्तुत गरेका छन् ।

शान्तिको प्रतीक सेतो परेवा पनि उडाइएको थियो । संविधान दिवसको अवसरमा आजै साँझ राष्ट्रपति पौडेलले शीतल निवासमा एक कार्यक्रम आयोजना समेत गरीएको छ । साथै नारायणहिटी दरबार अगाडिको सडकमा आज साँझ सांगीतिक कार्यक्रम पनि आयोजना गरिएको छ ।

यी कार्यक्रमहरुमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले स्रोतले जानकारी दिएको छ । नेपाली जनताको सातदशक लामो संघर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो ।

सोही दिनको स्मरणमा सरकारले ३ असोजलाई संविधान दिवस तथा राष्ट्रिय दिवसको रूपमा मनाउने गर्दछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us