काठमाण्डु, २ असोज– काँग्रेस र एमालेले सरकारको न्यूनतम साझा कार्यक्रमको खाका तयार पारेका छन् ।
दुई दलका दोश्रो तहका नेता सम्मिलित कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुधबार प्रधानमन्त्री केपी ओलीलाई बुझाएको छ ।
मन्त्रिपरिषदले अनुमोदन गरेपछि उक्त मस्यौदा सार्वजनिक गरिने कार्यदल सदस्य एवं काँग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिए ।
कार्यक्रम तय गर्न कांग्रेसबाट महामन्त्री थापा र प्रवक्ता प्रकाशशरण महत तथा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल सम्मिलित कार्यदल गठन गरिएको थियो ।
महामन्त्री थाापले अर्थतन्त्र चलायमान बनाउने गरी कार्यक्रम बनाइएको बताए । उनका अनुसार गत १७ असारको मध्यरातमा काँग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिमा व्यक्त प्रतिबद्धताका आधारमा कार्यक्रम तय गरिएको छ ।
सत्तारुढ गठबन्धनको साझा कार्यक्रम भनिए पनि सरकारमा सहभागी जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी तथा सरकारलाई बाहिरैबाट समर्थन जनाएका जनता समाजवादी पार्टी, नेपाल (जसपा) र सिके राउत नेतृत्वको जनमत पार्टीबाट कार्यदलमा सहभागिता नै गराइएको थिएन ।