काठमाण्डु, २ असोज– कांग्रेस महामन्त्री गगन थापाले सरकारको न्यूनतम साझा कार्यक्रम आज साँझ सार्वजनिक गर्ने तयारी रहेको बताएका छन ।
आज बुधवार काठमाण्डुको मुलपानीमा आयोजित राष्ट्रिय शिक्षा दिवसको अवसरमा बोल्दै महामन्त्री थापाले यस्तो जानकारी दिएका हुन । उनले सरकारको न्यूनतम साझा कार्यक्रममा शिक्षा ऐनलाई चाँडै पारित गर्नेगरी प्रस्ताव अघि बढाइएको पनि बताएका छन । महामन्त्री थापाले आगामी संसद्को सुरुवातमै शिक्षा ऐनलाई पारित गर्नेगरी तयारी भइरहेको पनि बताएका छन ।
उनले शिक्षा ऐन दसैँ–तिहार लगत्तै सुरु हुने संसद्को हिउँदे अधिवेशनको सुरुवातमै पारित गर्नेगरी अघि बढ्ने तयारी रहेको पनि बताएका छन । उनले कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत समितिमा सहभागी राजनीतिक दलहरूले दलगत हिसाबमा समूह बनाएर सहमतिले पारित गर्नेगरी अघि बढ्न आफूले सुझाव दिएको पनि बताएका छन ।
उनले उक्त समितिलाई दुई महिनाको समय दिएर समस्या सुझाउने प्रयास गर्न र सहमति जुटाउनसके छिटै शिक्षा विधेयक पारित हुने पनि बताएका छन । उनले भने, ‘ आज साँझ नयाँ बनेको सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नुपर्नेछ । त्यो कार्यक्रम बनाइरहेका छौँ । त्यो बनाउँदै गर्दा शिक्षा ऐन तत्काल पारित गर्छौं भनेर त्यसमा लेख्दै छौँ ।
लेखेर मात्रै हुँदैन, यहाँ त लेख्न चाहिँ लेख्ने तर संसदभित्रको काम हो । सरकारले चाहेर मात्रै हुँदैन । संसद्ले सँगै काम गर्नुपर्छ ।’