काठमाण्डु, २ असोज– रास्वपाको काठमाण्डुमा जारी राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमाथि सहभागी प्रतिनिधिहरूले धारणा राख्न नपाउने भएका छन ।
केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला काठमाण्डुको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबारदेखि जारी छ । भेलामा केन्द्रीय समिति, निकाय, विभाग, प्रदेशका पार्टी संरचना, जिल्ला र पालिकास्तरीय समितिबाट करिब १५ सय प्रतिनिधि सहभागी रहेका छन ।
भेलाको दोस्रो दिन बुधबारको अन्तिम सत्रमा मात्रै सभापति लामिछानेको राजनीतिक प्रतिवेदन पेस हुने भएको छ । भेलाको कार्यतालिकाअनुसार सभापति लामिछानले अपराह्न ४ः ३० बजे राजनीतिक प्रतिवेदन पेस गर्नेछन् ।
त्यसलगत्तै निष्कर्ष प्रस्तुत गर्ने र भेला सक्ने कार्यतालिका रहेको छ । रास्वपाको यस भेलाले पार्टीको महाधिवेशन तय गर्नेछ । मंगलबारदेखि सुरू भएको राष्ट्रिय भेलामा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रस्ताव पेस गरेका थिए ।
सातै प्रदेशका समितिले प्रतिवेदन पेस गरेका थिए। भेलामा पार्टीको आय–व्यव विवरणसमेत प्रस्तुत गरिएको थियो । त्यसमाथि बुधबार बिहान समूह छलफलसमेत गराइएको थियो ।