शंकर पोखरेल भन्छन्ः बिना लगानी सेयर होल्डर बन्ने र सिइओका रुपमा मनलाग्दी खर्च गर्ने रवि लामिछानेले कसरी उन्मुक्ति पाउँछन् ?

काठमाण्डु टुडे २०८१ असोज २ गते १२:२९ मा प्रकाशित

काठमाण्डू, २ असोज- एमाले महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति सामाजिक सन्जालबाट व्यंग्य गरेका छन् । पेखरेलले रवि लामिछानेलाई लक्षित गरी बिना लगानी सेयर होल्डर बन्ने र सिइओका रुपमा मनलाग्दी खर्च गर्नेले त्यसलाई दायित्वभित्र पर्दैन भन्नु आश्चर्य भएको बताए । रास्वपाले भन्ने गरेको विकल्पको राजनीति र सुशासन कस्तो भन्ने सहकारी प्रकरणबाट स्पस्ट भएको जिकिर पोखरेलले गरे ।

‘विना लगानी त्यसको सेयर होल्डर बन्दछ र सिइओको रुपमा मनलाग्दी पैसा खर्च गर्दछ,’ पोखरेलले आफ्नो पोस्टमा लेखेका छन्, ‘अनि उसले गरेको त्यो काम उसको दायित्वभित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरुले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो, हैन र ?’ सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले सोमबार प्रतिनिधिसभामा प्रतिबेदन बुझाएको थियो । प्रतिवेदनमा विभिन्न ५ वटा सहकारीमार्फत गोरखा मिडिया नेटवर्कमा ६५ करोड बढी रकम गैरकानूनी रुपमा प्रवाह भएको उल्लेख छ । जितेन्द्रबाबु राई (जिबी) ले निर्ब्याजी ऋणका रुपमा सहकारीहरुबाट गोर्खा मिडियामा रकम सारेको समितिले औंल्याएको छ । गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेको संलग्नता सहकारीबाट रकम ल्याउनेमा नभई जिबी राईले ल्याएको रकम चेक काटेर खर्च गर्नमा मात्र रहेको समितिले ठहर गरेको छ । समितिको प्रतिवेदन सार्वजनिक भएसंगै रास्वपाले आफ्ना सभापति लामिछानेको भूमिका सहकारीको रकम अपचलनमा नदेखिएकाले उनले क्लिन चिट पाएको दाबी रास्वपाले गरेको छ । सत्तारूढ कांग्रेस र एमाले नेता भने जिबी राई, रवि लामिछाने र गोर्खा मिडियाका सन्चालक नेपाल प्रहरीका पूर्वडिआईजी छविलाल जोशीसहित चार जनामाथि प्रचलित कानूनअनुसार कारबाही सिफारिस गरेकाले क्लिनचिट नपाएको दाबी गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us