काठमाण्डु, २ असोज– जितेन्द्रबाबु (जिबी) राई ले गोरखा मिडिया नेटवर्कलाई ग्यालेक्सी टेलिभिजन सञ्चालनका लागि ऋण दिएको खुलासा भएको छ ।
सहकारी संस्थाहरुमा भएको बचत दुरुपयोगसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिले गरेको अध्ययनमा उक्त तथ्य फेला परेको हो ।
तर, समितिले सार्वजनिक गरेको निस्कर्ष र सुझाव खण्डमा उक्त विषय उल्लेख गरिएको छैन । समितिले साढे तीन महिना लगाएर तयार पारेको अध्ययन प्रतिवेदन सोमबार प्रतिनिधिसभा बैठकमा पेश गरेको थियो ।
गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहकारीको रकम अचालनमा संलग्न रहेको आरोप लगाउँदै नेपाली काँग्रेसले पटकपटक संसद् अवरुद्ध गरेपछि गत १५ जेठमा प्रतिनिधिसभाले एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो । २२ जेठमा पहिलो बैठक बसेर कार्यारम्भ गरेको समितिले ९९औं दिनमा प्रतिवेदन सभामा पेश गरेको हो ।
समितिको प्रतिवेदनमा गोर्खा मिडिया नेटवर्क र रकम पठाउने सहकारी संस्थाको मुख्य जिम्मेवार व्यक्ति जिबी राई रहेको उल्लेख छ ।
सहकारी संस्थाबाट प्रवाह भएको बमोजिम गोर्खा मिडियाको खातामा जम्मा भएको रकमलाई लेखा परीक्षण प्रतिवेदनले सहकारीबाट आएको रकमको रुपमा स्वीकार गरेको नभेटिएको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
‘लेखा परीक्षण प्रतिवेदनले उक्त रकमहरुलाई जितेन्द्रबाबु राईले छोटो अवधिका लागि दिएको निब्र्याजी सापटीका रुपमा उल्लेख गरेको छ’, प्रतिवेदनमा भनिएको छ, ‘यद्यपि गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा रहेको जितेनद्रबाबु राईको ऋण खातामा रकम आउने जाने भइरहेको देखिन्छ ।’
समितिले रवि लामिछानेले सोधपुछका क्रममा सहकारीबाट कम्पनीमा रकम आएको सम्बन्धमा आफूलाई जानकारी नभएको र सो सम्बन्धमा जितेन्द्रबाबुलाई नै थाहा हुने बताएको पनि प्रतिवेदनमा लेखेको छ ।
समितिले स्पष्ट रुपमा सहकारी संस्थाबाट रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने प्रमाण नभेटिएको पनि स्पष्ट गरेको छ । तर, रकम गोरखा मिडियामा आएपछि खर्च गर्ने प्रक्रियामा भने लामिछानेको सहभागिता रहेको औंल्याइएको छ । जसलाई लामिछानेले समेत स्वीकार गरेका छन् ।
प्रतिनिधिसभामा समितिले प्रतिवेदन प्रस्तुत गरेपछि सोमबार नयाँबानेश्वरस्थित संघीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग लामिछानेले भनेका थिए, ‘एमडीले चेक काटेको भनिएको रहेछ । एमडीले चेक नकाटेर के घाँस काट्छ त ?’ । लामिछानेले रकम खर्च गर्ने भूमिकामा आफू रहे पनि रमकको श्रोत लगानीकर्तालाई मात्र थाहा हुने बताउँदै आएका छन् ।
सहकारी संस्थाबाट रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा आउने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण रहेको नभेटिएता पनि सोही रकम गोर्खा मिडियामा आइसकेपछि सो को परिचालन र खर्च प्रक्रिायमा उहाँको सहभागिता देखिन्छ ।’
बिजी राई, रवि लामिछाने र गोर्खा मिडियाका अर्का सञ्चालक नेपाल प्रहरीका पूर्वडिआईजी छविलाल जोशीको नाममा संयुक्त खाता सञ्चालन गरिएको भए पनि चेक साट्नका लागि तीनमध्ये एक जनाले हस्ताक्षर गरे पनि हुने गरी केवाइसी भरिएको भेटिएको छ । प्रतिवेदन सार्वजनिक भएपछि सहकारीको बचत अपचलनमा सभापति लामिछानेले ‘क्लिन चिट’ पाएको दाबी रास्वपाले गरेको छ ।
रास्वपा नेता एवं संसदीय छानबिन समिति सदस्य शिशिर खनालले सहकारी अपचलनमा लामिछाने संलग्न नदेखिएको बताए । ‘राज्यका सबै संयन्त्रहरुको प्रयोग गरेर अनुसन्धान गर्दा पनि हाम्रो सभापति सहकारीको बचत अपचलनमा प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न हुनुभएको देखिएन’, खनालले भने, ‘यो कुरा प्रतिवेदनमा स्पष्ट उल्लेख गरिएका कारण उहाँले त्यो आरोपबाट उन्मुक्ति पाउनुभएको छ ।’
सहकारीबाट गोर्खा गोर्खा मिडियामा सहकारीको पैसा ल्याउने भूमिकामा संलग्नता नदेखिएको भन्दै खनालले आइसकेको पैसा तत्कालीन प्रबन्धक निर्देशकको हैसियतमा खर्च मात्र गरेका आधारमा लामिछानेलाई दोषी करार गर्न नमिल्ने उनको भनाइ छ ।
समितिले बिजी राईमार्फत विभिन्न पाँच सहकारीबाट ६५ करोड ५४ लाख बचत गोर्खा मिडिया नेटवर्कमा अपचलन भएको ठहर गरेको छ । गोर्खा मिडियामा बचत अपचलन भएका सहकारीमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा, वीरगन्जको सानो पाइला र काठमाण्डुको स्वर्णलक्ष्मी छन् ।
सहकारी अपचलनको विषय बाहिर आएपछि गोर्खा बिजी राई फरार छन् । समिति सभापति थापाले बुझाएको प्रतिवेदन कार्यान्यवन गर्न सभामुख देवराज घिमिरेले सरकारलाई निर्देशन गरेका छन् ।