माओवादी सांसदको प्रश्नः झापा विद्रोह र ०७ सालको आन्दोलनलाई के भन्ने ?

काठमाण्डु टुडे २०८१ भदौ ३१ गते १३:५४ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले हिंसा शब्दप्रति सत्तापक्षका सांसदले दिएको अभिव्यक्तिप्रति असहमति, आपत्ति र विरोध भएको रेकर्ड गराएको छ ।

आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद शक्ति बस्नेतले क्रान्तिलाई हिंसाको व्याख्या गर्ने हो भने झापा विद्रोह र २००७ साललाई के भन्ने ? भन्दै प्रश्न गरेका छन ।

साथै उनले हिंसा शब्दप्रति सत्तापक्षका सांसदले दिएको अभिव्यक्तिमा असहमति, आपत्ति र विरोध भए पनि प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई ध्यानमा राखेर प्रतिनिधि सभाको बैठकमा विरोध नगरेको बताएका छन ।

सांसद बस्नेतले भने, ‘क्रान्तिलाई हिंसाको व्याख्या गर्ने हो भने झापा विद्रोह र ००७ सालको आन्दोलनलाई के भन्ने ? आन्दोलनको मूल प्रवृत्तिका आधारमा नेपालको जनयुद्धको भूमिकालाई अवमूल्यन र अपमान हुने गरी व्यक्त भएका विचारप्रति हाम्रो दलको असहमति, आपत्ति र विरोध भएको रेकर्ड गर्न चाहन्छु’ ।

उनले दश बर्से सङ्घर्ष समस्या नभएर मूलभूत रूपमा समाधान थियो भन्ने कुरा नयाँ संविधान र गणतन्त्रको स्थापना भएबाटै पुष्टि भएको तथ्यलाई अस्वीकार गर्न नसकिने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us