झापामा युवकद्वारा किशोरी र दाजुद्वारा भाइको हत्या

काठमाण्डु टुडे २०८१ भदौ २९ गते १०:०३ मा प्रकाशित

झापा, २९ भदौ– झापाको शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई जनाको हत्या भएको छ ।

अर्जुनधारा नगरपालिकामा शनिबार राति र शिवसताक्षीमा शुक्रबार राति गरी दुई जनाको हत्या भएको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए ।

केसीका अुनसार अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोकमा इलाम सूर्योदय नगरपालिका–१० फिक्कलकी १९ वर्षीया मनिषा लाहोरको छुरा प्रहार गरी हत्या भएको छ । हत्या आरोपमा प्रहरीेले कैलाली गौरीगञ्ज नगरपालिका–३ का २० वर्षीय अनिल विकलाई पक्राउ गरेको छ ।

लोहारलाई छुरा प्रहार गरी भाग्ने क्रममा विकलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए । छुरा प्रहारबाट घाइते भएकी लोहारको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको हो ।

यस्तै शिवसताक्षी नगरपालिका–८ शितलचोकका रामप्रसाद सिटौलाको हत्या भएको छ । आफ्नै दाजु नारायण सिटौलाले शुक्रबार राति मादक पदार्थ सेवन गरी हत्या भाइको हत्या गरेको केसीले बताए ।

दुवैले सँगै मादक पदार्थ सेवन गरेकामा विवाद भएपछि नारायणले रामप्रसादलाई दाउराले हानेर हत्या गरेका थिए । उनलाई तत्काल प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको एसपी केसीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us