प्रधानमन्त्री ओलीले उपसभामुखलाई भनेः तपाईंलाई हटाउने कुरै भएको छैन, बजार हल्लाको पछि नलाग्नू

काठमाण्डु टुडे २०८१ भदौ २८ गते १९:५६ मा प्रकाशित

काठमाण्डु, २८ भदौ– उपसभामुख इन्दिरा रानामगरले सत्ता पक्षले आफूलाई अविश्वास प्रस्तावमार्फत पदमुक्त गराउन खोजेको विषयमा सोधेकी छन् ।

संवैधानिक परिषद बैठकका क्रममा शुक्रबार उपसभामुख रानाले ओलीलाई आफूलाई हटाउने तयारी भएकोबारे ओलीलाई सोधेकी थिइन् । जवाफमा ओलीले हटाउन लागिएको भन्ने विषय गलत भन्दै बजार हल्लाका पछि नलाग्न भनेको रानाले जानकारी दिइन् ।

परिषद् बैठकपछि सञ्चारर्कीसँग कुरा गर्दै उनले ओलीले बजार हल्ला गलत भएको बताएको उल्लेख गरिन् ।

‘मैले मेरो अन्तर्राष्ट्रिय छवि छ । कयौं बालबालिका हुर्काएको छु । न त त्यो चिठी दूतावासमा गएको छ । न त उनीहरू नै अमेरिका गएका छन् । वास्तवमा चिठी दर्ता नै भएको छैन । त्यसलाई लिएर यस्तो आयो भन्ने कुरा राखेँ । प्रधानमन्त्रीले तपाईं संवैधानिक परिषदको सदस्य हो। बजारको हल्लाबारे कुरा नगरौं भन्नुभयो । बजारको कुरा बजारमै छाडौं भन्नुभएको छ’, रानाले भनिन् ।

सञ्चारकर्मीको एक प्रश्नको जवाफमा उनले गल्ती नगरेकाले राजीनामाको प्रश्नै नआउने टिप्पणी गरिन् ।

उपसभामुख रानाले प्रतिनिधिसभासँग असम्बन्धित एक महिला र चार पुरुषलाई आफूसँगै अमेरिका जाने भिसाको अन्तर्वार्ताको मिति अगाडि सारिदिन काठमाण्डुस्थित अमेरिकी दूतावासलाई पत्राचार गरेको विषय केही समयअघि बाहिर आएको थियो ।

सत्ता गठबन्धन परिवर्तन भएपछि एमाले र काँग्रेसले रानालाई चरित्रको प्रश्न उठाउँदै अविश्वास प्रस्तावमार्फत हटाउने तयारी गरेका थिए । एमाले सांसदहरुले प्रतिनिधिसभा बैठकमा जोडतोडले उपसभामुखको राजीनामा मागेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us