काठमाण्डु, २८ भदौ– कांग्रेस उपसभापति धनराज गुरूङ आफैंले सम्बन्ध विच्छेद भएको दाबी गरिएकी श्रीमती ज्योती गुरुङले मितेरी सहकारीबाट अपचलन गरेको रकम फिर्ता गर्दै आएको खुलासा भएको छ ।
सहकारीको रकम अपचलन छानबिनसम्बन्धी संसदीय समितिले शुक्रबार ललितपुरको महालक्ष्मीस्थानस्थित सहकारीको कार्यालयमा पुगेर अनुगमन गर्दा यस्तो तथ्य भेटिएको हो ।
गुरुङले ज्योति र आफूबीच ०७६ सालमा सम्बन्ध विच्छेद भइसकेको भन्दै पूर्वश्रीमतीको आर्थिक कारोबारको जिम्मा आफूले लिन नसक्ने दाबी गर्दै आएका छन् ।
प्रतिनिधिसभा बैठकमा केही दिनअघि उनले आफू सुशासनको पक्षमा उभिँदै आएको निष्ठावान भएको र आफूमाथि पूर्वाग्रहपूर्ण आरोप लगाइएको बताएका थिए । ज्योतिले उक्त सहकारीबाट १४ करोड ८१ लाख ऋण अपचलन गरेको भन्दै सहकारीले नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा उजुरी गरेको छ ।
बिहीबार अनुगमनमा गएको सहकारी छानबिन गर्न गठितका संयोजक सूर्य थापासहित सांसदहरुको टोलीलाई संस्थाका अध्यक्ष कुम्भराज गुरुङले धनराजले एक महिनाअघिसम्म पैसा तिरेको रसिद देखाएका थिए ।
ज्योतीले हिनामिना गरेको केही रकम फिर्ता गरेको विषयमा चर्चा चलेपछि सांसदहरुले पैसा कसले तिरेको थियो भन्ने प्रश्न गरेका थिए ।
जवाफमा अध्यक्ष गुरुङले श्रीमती ज्योतीले अपचलन गरेको पैसा धनराजले नै तिर्दै आएको जवाफ दिए । समितिले ०८१ सालसम्म धनराजले नै पैसा तिरेका रसिदहरु सहकारीबाट लिएको छ । ‘उहाँहरुको सहकारी सम्बन्ध विच्छेद भएको जस्तो देखिएको छ ।
किनकी कसैले पनि सम्बन्ध विच्छेद भएको श्रीमतीले लिएको पैसा तिर्दै हिंडेदैन’, समितिका एक सदस्यले भने । कुम्भराजका अनुसार धनराजले तीन वर्षअघि ललितपुर महानगरापलिका–५ मा रहेको घर बेचेर २ करोड ३५ लाख ऋण फिर्ता गरेका थिए ।