संसद् रेकर्डबाट हिंसा शब्द नहटाएसम्म अवरोध जारी राख्ने माओवादीको निर्णय

काठमाण्डु टुडे २०८१ भदौ २८ गते १६:५८ मा प्रकाशित

काठमाण्डु २८ भदौ– नेकपा माओवादी केन्द्रले जनयुद्धलाई अपमानित गर्ने ढङ्गले एमालेका सांसदहरू संसदमा बोलेको अभिव्यक्तिको विषयमा समाधान नभएसम्म संसद् अवरोध जारी गर्ने तयारी गरेको छ ।

आज शुक्रबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकले जनयुद्धलाई एमालेले अपमानित गरेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्न समेत निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका छन । उनले भने, ‘माओवादी जनयुद्धलाई एमालेले अपमानित गरेको छ । त्यो शान्ति सम्झौता र संविधानविपरित छ ।

संसद्‌मा तपाईँहरूले जसरी प्रतिवाद गर्न भएको ठिक छ । हिंसासँग मात्र होइन समग्र माओवादी आन्दोलन, जनमुक्ति सेनालाई बदनाम गर्ने ढङ्गले आएको छ । आगामी दिनमा त्यसको सशक्त प्रतिवाद गर्ने गरी समाधान नभएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको छ ।’ यस्तै सभामुखले २६ गते गरेका रुलिङ चित्तबुझ्दो नभएको भन्दै माओवादीले असन्तुष्टि जनाएको छ ।

एमालेका सांसद योगेश भट्टराईले माओवादी आन्दोलनलाई हिंसा भनेपछि माओवादी सांसदले त्यसको प्रतिवाद गरेका थिए । संसद्को रेकर्डबाट हिंसा शब्द हटाउन सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए । तर घिमिरेले हिंसा शब्द असंसदीय नभएको बैठकलाई जानकारी गराएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us