कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’मा लगानी

काठमाण्डु टुडे २०८१ भदौ २८ गते १०:१४ मा प्रकाशित

बागलुङ, २८ भदौ– कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त छन् ।

विसं २०७७ मा ड्रागन फ्रुटका एक हजार पाँच सय बिरुवा लगाएका थापाले १५ महिनादेखि फल टिप्न थालेको बताए ।

कोरोनाकालमा कोरियाबाट गाउँ फर्केका थापाले युट्युवमा भिडियो हेरेकै आधारमा गरेको ड्रागन फ्रुटले व्यावसायिक उत्पादन दिन थालेपछि उहाँ दङ्ग पर्नुभएको छ ।

१५ रोपनी जग्गामा २० लाख लगानी गरेर थालेका ड्रागन फ्रुटखेतीबाट हालसम्म एक हजार दुई सय किलो उत्पादन भइसकेको उनले बताए ।

उनले ड्रागन फ्रुटको व्यावसायिक खेती फलफूलमध्येकै सबैभन्दा सजिलो खेती रहेको अनुभव सुनाए । छोटो समयमै चार लाखभन्दा धेरै रकम ड्रागन फ्रुटबाट आम्दानी भइसकेको छ ।

‘चितवनबाट १ हजार ५ सय बिरुवा ल्याएर खेती सुरु गरेको थिएँ, अहिले ड्रागन फ्रुटलाई प्रतिकेजी चार सयमा बजार पठाइरहेको छु, बेनी, पोखरा र बागलुङ बजारमा ड्रागन फ्रुट खपत भइरहेको छ,’ उनले भने ।

यो फल खेतीका लागि अन्य बालीलाई जस्तो धेरै मेहनत गर्नु नपर्ने र सुरुमा सिमेन्टको पोल बनाएर बिरुवा लगाइदिए राम्रोसँग सर्ने थापाले बताए ।

‘एकपटक लगानी गरेपछि निरन्तर लगानी थप्न नपर्ने, उत्पादन हुने र फाइदाका हिसाबले ड्रागन फ्रुट बुहुगुणी भएकाले बजारको सम्भावना अत्यधिक छ,’ थापाले भने, ‘जेठदेखि उत्पादन सुरु भएको फल १५ दिन बिराएर मङ्सिरसम्म टिप्न पाइन्छ, मैले लगाएको रातो  ड्रागन हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us