मसानघाट अतिक्रमण गरी घर निर्माण, दाहसंस्कारमा समस्या

काठमाण्डु टुडे २०८१ भदौ २६ गते ७:५३ मा प्रकाशित

बागलुङ, २६ भदौ– बालगुङमा मसानघाट अतिक्रमण हुन थालेपछि दाहसंस्कारमा समस्या हुन थालेको छ ।

ठाउँठाउँमा अतिक्रमण हुँदा खोला किनार नै साँघुरो बनेपछि दाहसंस्कारमा समस्या भएको हो ।

कालीगण्डकी नदीसहित बागलुङमा काठेखोला, निसीखोला, तमानखोला, बडिगाड, भूजीखोला, दरमखोलासहित दर्जनमा अतिक्रमण भएको हो ।

खोला किनार साँघुरो बन्दै गएपछि मसानघाट नै पुरिएका छन् । वर्षौं अगाडिदेखि मसानघाटका रूपमा प्रयोग हुँदै आएका खोला किनारमा कतै खेत र कतै घर बनेका छन् ।

डेढ दशक अगाडिसम्म सुनसान रहेको गलकोट नगरपालिकास्थित दरमखोला र गौदीखोला किनारमा हाल ठूलो बस्ती छ । गलकोटको हटिया बजार पनि खोला किनारमै छ ।

गौदीखोला किनारमा हटिया, नरेठाँटीसहितका बस्ती छन् । पहिले गौदीखोला र दरमखोला किनारका थुप्रै स्थानमा रहेका दाहसंस्कार गरिने ठाउँ अचेल अतिक्रमणमा परेका गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार कतिपय दाहसंस्कार गर्ने ठाउँ सडकले त कतिपय व्यक्तिगत संरचनाले गर्दा मासिएको हुन् । भण्डारीले हाल नगरपालिकाका विभिन्न १० स्थानमा व्यवस्थित मसानघाट बनाइएको जानकारी दिए ।

निसीखोला गाउँपालिकाका पूर्णबहादुर क्षेत्रीले मसानघाट रहेका स्थानमा व्यक्तिगत तथा अन्य संरचना निर्माण गरिँदा समस्या भएको गुनासो गरे । निसीखोलामा पर्ने जैमुरे घाट, तिल्जा, पञ्चासे, नौँमुरेलगायत दर्जन बढी घाट अहिले पुरिएर खेत बनेको उनले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालले मसानघाटसहित सार्वजनिक जग्गा अतिक्रण भएको मौखिक गुनासो सुनिए पनि उजुरी नआउँदा कारबाही प्रक्रिया अगाडि बढाउन नसकिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us