रवि लामिछानेविरुद्ध पोखरामा प्रदर्शन, कालो झण्डा देखाइयो

काठमाण्डु टुडे २०८१ भदौ २५ गते १४:०८ मा प्रकाशित

पोखरा, २५ भदौ– सहकारी बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखरामा कालोझण्डा देखाएका छन् ।

पार्टीको गण्डकी प्रदेश बैठकमा सहभागी हुन आएका लामिछानेलाई बिरौटामा मंगलबार नाराबाजीसहित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले कालो झण्डा देखाएका हुन् । उनीहरुले लामिछाने सहकारी ठग भएको भन्दै नाराबाजी गरे ।

सूर्यदर्शनको करोडौं बचत लामिछाने प्रबन्ध निर्देशक रहेको ग्यालेक्सी टेलिभिजनको माउ संस्था गोरखा मिडिया नेटवर्कमा अपचलन भएको पुष्टि भइसकेको छ ।

लामिछाने स्वयंले सहकारीको रकम गोरखा मिडियामा आएको स्वीकार गरे पनि आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् ।

प्रहरीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसहित १९ जनालाई प्रतिवादी बनाएर १ अर्ब ११ करोड रुपैयाँ बिगो दाबीसहित गत असोजमा कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us