काठमाण्डु, २५ भदौ– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ परेका छन् ।
विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ क्षेत्रबाट प्यूठान सरूमारानी गाउँपालिका–१ बाङ्गेसारका ३१ वर्षीय समीर अहमद र खोटाङ दिपरूङ गाउँपालिका–५ का ३० वर्षीय देवराज खत्रीलाई मंगलबार पक्राउ गरेको हो ।
उनीहरुमध्ये समीर हिमालय एयरलाइन्सको उडानमार्फत कतारको दोहाबाट काठमाण्डु आएका थिए । उनको साथबाट करिब ५४ ग्राम सुनको ढिक्का, बेरूवा औंठी र एक थान मोबाइल बरामद भएको छ ।
देवराज भने विभिन्न मुलुकबाट आएका यात्रुमार्फत भन्सार छली गरी ल्याइएका सामन लैजाने कार्यमा संलग्न थिए । उनको साथबाट करिब २५ ग्राम तौलको सुनको सिक्री, दुई मोबाइल र एउटा ल्यापटप बरामद भएको छ ।