ओली सरकार दलाल र बिचौलियाले अंध्यारो कोठामा बनाइदिएका हुन्ः प्रचण्ड

काठमाण्डु टुडे २०८१ भदौ २५ गते १२:२७ मा प्रकाशित

काठमाण्डु, २५ भदौ- माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकार दलाल र बिचौलियाहरूले बनाइदिएको आरोप लगाएका छन् । सिरहाको मिर्चैयामा मंगलबार आयोजित कार्यकर्ता भेटघाटमा उनले भ्रष्टाचारीहरूलाई कारबाही र सुशासनका पक्षमा अभियान अघि बढाएपछि कांग्रेस-एमाले नेताले भयभित भएर दलाल र बिचौलियाको अगुवाइमा सरकार बनाएको आरोप लगाए । ‘ठूल्ठूला भ्रष्टाचारी र अत्याचारीहरू पक्राउ पर्न थालेपछि कांग्रेस र एमालेका नेताहरू आफू पनि पर्ने हो कि भनेर आतंकित भए,’ उनले भने, ‘अनि दलाल र बिचौलियाहरूले अँध्यारा कोठामा उनीहरूलाई मिलाइदिए ।’

दुई ठूला दल मिल्नु संसदीय व्यवस्थाका लागि अप्राकृतिक र अस्वभाविक रहेको दाबी उनको थियो । ओली सरकारले मुलुक र जनताका हितमा काम गर्छ भन्ने अपेक्षा राख्नु नै गल्ती हुने टिप्पणी गरे ।

फरक प्रसंगमा प्रचण्डले आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पस्ट गरे । प्रधानमन्त्रीको रेस छाडेर आफूहरु पार्टी बनाउने काममा जुटेको उनको भनाइ थियो ।    

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us