काठमाण्डू, २५ भदौ- सत्तारूढ घटक दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेका छन् ।
सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठकमा प्रधानमन्त्री केपी ओलीले उपसभामुख रानालाई हटाउनुपर्ने प्रस्ताव गरेका थिए । स्रोतका अनुसार संवैधानिक परिषदमा आफू अनुकुल निर्णयका लागि रानालाई पदीय आचरण अनुकुल काम नगरेकाले हटाउनुपर्ने प्रस्ताव बैठकमा राखेका थिए । बैठकमा सहभागी एक नेताका अनुसार ओलीको प्रस्तावमा सबै सत्तारुढ घटकका नेता सहमत छन् । प्रतिनिधिसभा नियमावलीको नियम २१० को (१) मा कुनै सदस्यलाई सभामुख वा उपसभामुखले पदअनुकुल आचरण गरेको छैन भन्ने लागेमा प्रतिनिधिसभाका तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्यको समर्थन प्राप्त गरी प्रस्ताव पेश गर्ने सूचना महासचिव वा निजको अनुपश्थितिमा सचिवलाई दिनुपर्ने व्यवस्था छ ।
संविधानको धारा ९१ को उपधारा ६ को (ग) मा उपसभाखुले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम सम्पूर्ण सदस्य संख्याको दुई तिहाइबाट पारित भएमा उपसभामुख पद रिक्त हुने व्यवस्था छ । उपसभामुख रानामाथि कुन अभियोगमा आचरणमाथि प्रश्न उठाइएको भन्ने खुलाइएको छैन ।
उपसभामुख रानामगर अमेरिकी दूतावासलाई असम्बन्धित व्यक्तिहरुका लागि भिसाको अन्तर्वार्ता समय अगाडि सारिदिन भन्दै पत्राचार गरेको विषयमा विवादमा परेकी थिइन् ।