काठमाण्डु, २४ भदौ– सत्तारुढ दलहरुले संविधान संशोधनका लागि बृहत् छलफल गर्ने भएका छन् ।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली,काँग्रेस सभापति शेरबहादुर देउवालगायत सत्ता पक्षका नेताबीच सोमबार साँझ बालुवाटारमा छलफल भएको थियो । काँग्रेस र एमालेबीच गत १७ असारमा सत्ता साझेदारीसहित संविधान संशोधन गर्ने समझदारी भएको थियो ।
बैठकले संविधान संशोधनका लागि प्रमुख प्रतिपक्षी माओवदी केन्द्र, रास्वपासहित सबै दलसँग बृहत छलफल गर्नुपर्ने निस्कर्ष निकालेको छ ।
बैठकमा सहभागी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठले बैठक संविधान संशोधनका विषयमा केन्द्रित रहेको जानकारी दिइन् । श्रेष्ठका अनुसार सबै दलबीच संविधान संशोधनको एजेण्डामा छलफल गर्नेबारे सबैको साझा मत रहेको थियो । संविधान संशोधन गर्दा संविधान जारी गरेपछि व्यक्त भएका असन्तुष्टिको समेत सम्बोधन हुनुपर्ने उनको भनाइ छ । बैठकमा सरकारका कामकारबाही प्रभावकारी बनाउने तथा गठबन्धन कसिलो बनाएर जाने विषयमा समेत छलफल भएको थियो । उनका अनुसार अबदेखि सत्ता पक्षका नेताहरुको बैठक हरेक साता बस्नेछ ।