काठमाण्डु, २४ भदौ– सहकारीको बचत अपचलन सम्बन्धमा छानबिन गर्न प्रतिनिधिसभाले गठन गरेको छानबिन समितिका सभापति एमाले सांसद सूर्य थापाले काँग्रेस उपसभापति धनराज गुरुङविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) मा सहकारी ठगी गरेको आरोपमा उजुरी परेको विषय जानकारीमा रहेको बताएका छन् ।
थापाले लतितपुर महालक्ष्मीस्थानमा रहेको मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरूङले १४ करोड ८१ लाख रकम हिनामिना गरेको आरोपमा उनीविरुद्ध सिआइबीमा उजुरी दिएको बताए । कुम्भराजलाई समितिले बयानमा बोलाएको थियो । त्यस क्रममा उनले धनराज र उनकी पूर्वपत्नी ज्योतिविरुद्ध सिआइबीमा उजुरी दिएको बताए ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद गणेश पराजुलीले कांग्रेस सांसद गुरूङ र उनकी पत्नी ज्योति गुरूङविरूद्ध सहकारी बचत ठगीका विषयमा सिआइबीमा उजुरी परेको बताएपछि यो विषय बाहिर आएको हो ।
थापाले ज्योती सहकारीको व्यवस्थापक भएका बेला बचतकर्ताको रकम लिएर हिंडेको पुष्टि हुने उल्लेख गरे । यद्यपि धनराज ठगीमा संलग्न छन् वा छैनन् भन्नेबारे आफूले भन्न नसक्ने थापाको भनाइ थियो ।
सहकारीका अध्यक्ष कुम्भराजले समितिमा पाँच वर्षदेखि फरार ज्योतीसँग दुई वर्षअघि कुराकानी भएको र त्यस क्रममा धनराजले समेत क्रमशः तिर्दै जाने प्रतिबद्धता जनाएको उल्लेख गरे । कुम्भराले समितिसमक्ष ज्योतिले बचतकर्ताको रकम जितेन्द्र भण्डारी नाम गरेका व्यक्तिमार्फत थाइल्यान्ड लगेर बिटक्वाइनमा लगानी गरेको समेत जानकारी दिए ।