भारतद्वारा ब्यालेस्टिक मिसाइल अग्नि–४ सफलतापूर्वक प्रक्षेपण

काठमाण्डु टुडे २०८१ भदौ २२ गते १२:४३ मा प्रकाशित

एजेन्सी– शुक्रबार भारतले मध्यम दूरीको ब्यालेस्टिक मिसाइल अग्नि–४ सफलतापूर्वक प्रक्षेपण गरेको छ । यसलाई ओडिशाको चंडीपुरको एकीकृत परीक्षण दायराबाट प्रक्षेपण गरिएको भारतको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

यो प्रक्षेपणले यसको परिचालन र प्राविधिक मापदण्डहरू पूरा गरेको जानकारी दिइएको छ। अग्नि–४ मिसाइल स्ट्रेटजिक फोर्सेज कमान्ड अन्तर्गत प्रक्षेपण गरिएको थियो । अग्नि–४ को सफल परीक्षणलाई भारतका लागि निकै महत्त्वपूर्ण मानिएको छ किनभने यो भारतको परमाणु प्रतिरोध कार्यक्रमको हिस्सा हो ।

अग्नि–४ मिसाइलको दायरा ४ हजार किलोमिटरभन्दा बढी छ । भारतले यो वर्षको अप्रिलमा ओडिशाको तटमा रहेको अब्दुल कलाम टापुबाट १ हजार देखि २ हजार किलोमिटरसम्म मार हान्न सक्ने नयाँ पुस्ताको परमाणु सक्षम अग्नि प्राइम ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us