कास्की र तनहुँमा सबैभन्दा बढी डेंगु सङ्क्रमित

काठमाण्डु टुडे २०८१ भदौ १४ गते १७:२९ मा प्रकाशित

काठमाण्डु, १४ भदौ– देशभर तनहुँ र कास्की जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित फेला परेका छन । देशभर २७ अगस्ट सम्ममा ५ हजार ५८९ जना सङ्क्रमितमध्ये तनहुँमा १ हजार ६७ जना र कास्कीका ५३६ जनामा डेंगु सङ्क्रमण फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।

देशभर २३ अगस्टसम्म ५ हजार ११९ जनामा डेंगु सङ्क्रमण भएको थियो । त्यसपछि ४७० जना थपिएर अगस्ट २७ सम्ममा ५ हजार ५८९ जना सङ्क्रमित भएका हुन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो तथ्याङ्क माघयताको हो । देशभर ७७ मध्ये हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको ईडीसीडीले जानकारी दिएको छ ।

माघ महिनायता डेंगु सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु भएका डेंगु सङ्क्रमितलाई अन्य रोग पनि लागेको ईडीसीडीले जानकारी दिएको छ । डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।

डेंगु भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने चिकित्सक बताउँछन् । एडिस जातको लामखुट्टेले सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा डेंगु सार्ने गर्दछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us