काठमाण्डु, १४ भदौ– बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारबर्दिया नगरपालिका–९ कर्तनियाका तीन वर्षीया प्रिन्सा चौधरी रहेकी छिन् ।
बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा गएराति नहरको किनारमा बालिकाको चप्पल फेलापरेको प्रहरीले जानकारी दिएको छ ।
बालिकाको आज बिहान शव फेलापरेको बर्दिया जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिएका छन ।
नहर किनारमा चप्पल फेलापरेपछि प्रहरीले बालिका नहरमा बगेको आशङ्कामा खोजी गर्दै जाँदा चप्पल भेटिएको स्थानबाट चार किलोमिटर पश्चिमतर्फ–९ स्थित धोविनपुर भन्ने ठाउँमा बालिकाको शव फेला पार्न सफल भएको प्रहरीले जनाकारी दिएको छ ।