हामी ‘आईलभ यू केपी बा’ भन्न सक्दैनौंः माधव सापकोटा

काठमाण्डु टुडे २०८१ भदौ १३ गते १९:३४ मा प्रकाशित

काठमाण्डु, १३ भदौ– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले माओवादी सशस्त्र जनयुद्धलाई हिंसा भन्नु संविधानको व्यवस्थाविपरीत भएको दाबी गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा बिहीबार बोल्दै उनले एमालेले संसदबाट हिंसाको हाउ फैलाउन खोजेको टिप्पणी गरे । एमाले सांसद योगेश भट्टराईले बुधबारको संसद बैठकमा माओवादीले १० वर्षसम्म हिंसा भनेपछि सत्तापक्ष र प्रतिपक्षबीच उक्त विषयमा जुहारी चलेको छ ।

सापकोटाले भट्टराईले आफूहरुको अवमूल्यन गर्ने मनसायले हिंसा शब्द प्रयोग गरेकाले त्यसको प्रतिवाद गरिने बताए । सापकोटाले संविधानमा सशस्त्र संघर्ष शब्द प्रयोग भएको र संघर्षले वीरताको ओजपूर्ण गाथा बोक्ने तर्क गरे ।

‘संसदमा हिंसाको हाउ आइराखेको छ । म हिंसाको हाउलाई प्रतिवाद गर्न चाहन्छु । माननीयहरुले भनेको पनि सुनियो कि हिंसा ठीकै हो, संसदीय शब्द हो । सवाल के शब्द प्रयोग गरियो होइन, सबाल कुन नियतका साथ गरियो र त्यसको अभिप्राय के थियो भनेर हेरिनुपर्दछ । माननीय योगेश भट्टराईले जनयुद्ध र आन्दोलनलाई अपमान गर्ने र खिसिट्युरी गर्नुभयो हामीले त्यसको प्रतिवाद गरेका हौं । आन्दोलनलाई अवमूल्यन गर्ने अधिकार उहाँलाई छैन ।  कमरेड योगेश भट्टराई आफ्नो नेतृत्वलाई चाकडी गर्ने स्वतन्त्रता छ । जनयुद्धका बारेमा विरोध गर्नका निम्ति उहाँहरुको बैठक, भेला, प्रशिक्षण सबैतिर उहाँहरुलाई स्वतन्त्रता छ । तर, संविधानले के भन्दछ भने जनयुद्धलाई सशस्त्र संघर्ष भन्दछ । संघर्ष भनेको वीरताको गाथा हो । संघर्ष भनेको ओजपूर्ण हो, त्यसले कहीं नै कहीं ओज बेकोको हुन्छ ।’

सापकोटाले ०७५ जेठ ३ गते एमाले र माओवादीबीच भएता भएर बनेको नेकपाको प्रथम बैठकबाट पारित राजनीति प्रतिवेदनको बुँदा नम्बर ८.२ को ‘कम्युनिष्ट आन्दोलनका गौरवशाली ६८ वर्षहरु’ भन्ने शीर्षकमा पृष्ठ ३५ मा लेखिएको विषय पढेर सुनाए ।

उनले भने, ‘ नेपालको ठोस परिस्थितिमा राजनीतिक र फौजी रणनीतिको विशिष्ट सन्तुलन कायम गर्दै कमरेड प्रचण्ड नेतृत्वमा नेकपा मओवादीले ०५२ साल फागुन १ गतेदेखि जनयुद्धको पहल ग¥यो । त्याग र बलिदानका कीर्तिमान कायम गर्दै माओवादी जनयुद्धले नेपाली राजनीतिमा नयाँ तरंगसहित दूरगामी प्रभाव पा¥यो भनेर नेकपाको रानजीतिक प्रतिवेदनमा यो कुरा लेखिएको छ । यसमा कमरेड केपी ओली र कमरेड प्रचण्डले हस्ताक्षर गर्नुभएको छ । कमरेड योगेश भट्टराई पनि यही केन्द्रीय समितमा हुनुहुन्थ्यो । म पनि त्यही केन्द्रीय समितिमा थिएँ ।’

सापकोटाले आफ्नो नेतालाई चाकडी गर्न भट्टराई स्वतन्त्र भए पनि गरिमामय आन्दोलनलाई होच्याउन र अवमूल्यन गर्न स्वतन्त्र नभएको तर्क गरे । भट्टराईको अभिव्यक्ति संवैधानिक प्रावधानसमेतको विपरीत रहेको भन्दै उनले भने, ‘संविधानको धारा ४२ मा नेपालमा अग्रगामी लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गर्ने व्यक्तिका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, लोकतन्त्रका योद्धा, अपांगता भएका, घाइते तथा पीडितलाई न्याय तथा रोजगारसहित शिक्षा, स्वास्थ्य, आवास र सामाजिक सुरक्षामा प्राथमिकताका साथ अवसर पाउने हक हुनेछ भनेर लेखिएको छ ।’

उनले संवैधानिक रुपमा परिकल्पना गरिएको विषयलाई अवमूल्यन नगरियोस भनेर आफूहरुले आवाज उठाएको बताए । ‘यो कुनै सवाल जवाफको कुरा होइन । अरु सबै कुरा सहन्छ मान्छेले आफ्नो अस्मितामाथि आफ्नो स्वतन्त्रतामाथि महला गरेपछि प्रतिवाद गर्छ । विद्रोह गर्छ हामीले माक्र्सवादबाट सिकेको कुरा यही हो । हिंसाको हाउ जे छ त्यसलाई अन्त्य गर्नुपर्छ’, सापकोटाले भने ।

उनले एमालेले तर्क नष्ट भएपछि पतनको सुरुआत स्वरुप संसदलाई बराल्न बहसलाई विषयान्तर गराउन खोजेको आरोप लगाए । वैचारिक र मुद्धा केन्द्रित बहस गरेर पतनको यात्रालाई रोक्न उनले एमालेलाई आग्रह गरे ।

फरक प्रसंगमा उनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिबारे गरिएको टिप्पणीको पनि खण्डन गरे ।

विपक्षी दल संसद र प्रणालीको ‘वाचडग’ भएकाले आफ्नो भूमिका पूरा गरेको उल्लेख गरे । ‘विपक्षी दल भनेको यो संसद र समग्र व्यवस्थाको ‘वाच डग’ हो, त्यसले खबरदारी गर्छ, ध्यानाकर्षण गराउँछ, बेथितिका विरुद्ध संघर्ष गर्छ । ठीक त्यही गर्नुभएको हो विपक्षी दलका नेताले । तर, प्रधानमन्त्रीले दिनुपर्ने जवाफ भटाभट बाँडेर माननीय ज्यूहरुले दिइराख्नुभएको छ । त्यसका लागि पनि धन्यवाद नै छ’, उनले भने, ‘प्रतिपक्षले आफ्नो ड्युटी पूरा गर्छ । आलोचना सुन्ने, विरोध सुन्ने धैर्यता राख्नुहोस् ।’
सापकोटाले डेडिकेटेड र ट्रंक लाइनबापतको बक्यौता उठाउनुपर्छ भन्ने मत राखेका आधारमा नेपाल विद्युत प्राधिकरणका दुई सदस्यलाई बर्खास्त गरेबाटै सरकारको नियत स्पष्ट हुने बताए । ‘प्राधिकरणका दुई जना संचालकले यसो गर्नु हुँदैन । बक्यौता उठाउनुपर्छ भन्दा बर्खास्त गरेको होइन ? त्यो महान कार्य हो भनेर आई लभ यू केपी बा’ भनिदिनुपर्ने हामीले ? ‘आई एम वीथ केपी ओली भनिदिनुपर्ने हामीले ? त्यो अपेक्षा गरेको हो भने नगर्नुहोस् । हामी त्यो गर्न सक्दैनौं । सरी भन्न चाहनछु ।’

सापकोटाले संसदमा प्रतिपक्षी दलले यो भन्दा ज्यादा सशक्त संघर्ष गर्ने भन्दै त्यसको सामनाका लागि तयार रहन चेतावनी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us