काठमाण्डु, १३ भदौ– पूर्व मन्त्री एवं एमाले सांसद गोकुल बास्कोटाले महालेखापरीक्षकको कार्यालयले विद्युत प्राधिकरणको २२ अर्ब बेरुजु उठाउन पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोकेको आरोप लगाएका छन ।
आज बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बास्कोटाले यस्तो बताएका हुन । उनले सार्वजनिक लेखा समितिका सबै सदस्यहरू २२ अर्ब बेरूजु उठ्नुपर्नेमा एकमत रहेकामा प्रधानमन्त्री हुँदा प्रचण्डले दुइटा पत्र लेखेर ‘उठाउनपर्दैन’ भनेको बताएका हुन् ।
उनले भने, ‘यो रोक्ने प्रचण्ड हो। उहाँले जवाफ दिनुपर्छ। उहाँलाई हामी स्पष्टीकरण सोध्छौं। संसदले सोध्नुपर्छ। समितिले पनि त्यही सोध्न चाहेको हो। नतिरे पनि हुन्छ भनेर त्यो दुइटा पत्र किन लेखेको ?’
बास्कोटाले माफियासँगको संरक्षण कसको पालामा कसरी भएको रहेछ र किन रहेछ भन्ने कुरा पनि प्रष्ट भएको बताए। लेखा समितिले हुँदैन भने शक्तिशाली छानबिन समिति गठन गर्नुपर्ने पनि बताएका छन ।
उनले भने, ‘लेखा समितिले पुग्दैन भने संसदबाटै एउटा शक्तिशाली छानबिन समिति गठन गरियोस्। किन २२ अर्ब रूपैयाँ उठेन, कसका कारणले उठेन, कसले पत्र लेखेर रोक्यो ।’
बास्कोटाले पटक–पटक प्रधानमन्त्री हुने तर त्यसबीचमा भएका कुराहरुको जवाफदेहिता प्रचण्डमा नरहेको पनि बताएका छन । उनले थपे, ‘कतिचोटी प्रधानमन्त्री हुनुभयोरु १५ वर्षमा २० पटक हुनुभोहोला। बीचमा भएको सबै कुराको जबाफदेहिता बोक्नुपर्छ।
त्यो बोक्न नसक्नी, जवाफदेहिता निलिनी, ढलेको भोलिपल्ट एउटा कुरा बन्या भोलिपल्ट अर्को कुरा गर्ने कुराले राम्रो काम गर्न सक्दैन ।’ प्राधिकरणले पैसा उठाउन खोज्ने तर विद्युत प्रयोग गरेको लोड प्रोफाइल डाटा चाहीँ नपठाउने गरेको पनि बताएका छन ।