कलकत्ता पुर्‍याएर मिर्गौला तस्करी गरेको आरोपमा दुईजना पक्राउ

काठमाण्डु टुडे २०८१ भदौ १२ गते १७:४० मा प्रकाशित

काठमाण्डु, १२ भदौ– प्रहरीले मानव बेचबिखन ब्युरोले मिर्गौला तस्करी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ घर भएका ३७ वर्षीय शंकर खत्री र मकवानपुरको भिमफेदी गाउँपालिका घर भएकी ४२ वर्षीया शान्तिमाया घलान रहेको ब्युरोले जनाएको छ ।

एउटा मिर्गौला निकाल्दा केही नहुने र १० लाख कमाउन सकिने प्रलोभनमा पारेर उनीहरूले पीडितलाई भारतको कलकत्तामा पुर्‍याएर मिर्गौला तस्करी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष रहेको छ ।

उनीहरुले मिर्गौला दिँदा ‘धर्म हुन्छ’ भनेर समेत प्रलोभनमा पारेका खुलेको मानव बेचबिखन ब्युरोका एसपी गौतम मिश्रले जानकारी दिएका छन ।

पीडितको नागरिकता समेत नक्कली बनाएर उनीहरुले काठमाण्डुबाट वीरगन्ज हुँदै सुमोमा चढाएर कलकत्तामा पुर्‍याएर तस्करी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुविरुद्ध ९ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी मिश्रले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us