काठमाण्डु, १२ भदौ– प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भ्रष्टाचारजस्तो कसुरमा कारबाहीका लागि हदम्याद राख्न नहुने बताएका छन ।
आज बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारको कसुरमा हदम्याद राखिएको आपत्ति व्यक्त गरेका हुन ।
प्रमुख सचेतक पाण्डेले भ्रष्टाचार रोक्नका लागि सरकारले व्यवहारबाटै काम गरेर देखाउनुपर्ने पनि उनले बताएका छन । उनले भने, ‘भ्रष्टाचार कुराले रोकिँदैन । कामबाट रोकिनुपर्छ । कानुनबाट रोकिनुपर्छ ।
जनताले आफ्नो जीवन व्यवहारमा भ्रष्टाचार रोकिएको अनुभूति गर्न पाउनुपर्छ । हाल प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक उपर छलफल चलिरहेको छ ।
२०७६ सालमा संसद्मा दर्ता भएको यस विधेयकको दफा १६ मा संशोधन गर्ने भनेर पाँच वर्षभित्र मुद्दा चलाउने विषय राखेको आएको छ । भ्रष्टाचारजस्तो कसुरमा हदम्याद राखिनु हुन्न मेरो र हाम्रो दल नेकपा (माओवादी केन्द्र) का दृढ मत रहेको छ । यस बारेमा व्यापक छलफलहरू भइराखेका छन् । ’
प्रमुख सचेतक पाण्डेले सहकारी पीडितहरूलाई न्याय दिने काममा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण पनि गरेका छन ।