एकीकृत समाजवादीभित्र प्रस्ट गुटबन्दी

काठमाण्डु टुडे २०८१ भदौ १२ गते ११:५६ मा प्रकाशित

काठमाण्डु, १२ भदौ– नेकपा एकीकृत समाजवादीभित्रको अन्तरसंघर्ष चुनावी प्रतिस्पर्धासम्म पुगेको छ । मंगलबार पदाधिकारी र पोलिटब्यूरो सदस्यका लागि भएको मतदानमा गुटगत प्रतिस्पर्धा भएको छ ।

वरिष्ठ उपाध्यक्षसहित १८ पदका निम्ति मनोनयन दर्ता गर्दा प्रस्ट गुटगत उम्मेदवारी परेको थियो । तर वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत निर्वाचित भएका थिए ।

घनेन्द्र बस्नेतलाई उम्मेदवारी फिर्ता लिन सहमत गराएर पाण्डेलाई निर्विरोध वरिष्ठ उपाध्यक्ष बनाइएको थियो । स्रोतका अनुसार बस्नेतलाई वरिष्ठ नेताको आश्वासन दिएका छन । ती स्रोतले भन्यो, ‘प्रमेश हमाल, घनेन्द्र बस्नेत र बेदुराम भुसाल लगायतलाई वरिष्ठ नेता बनाउने आश्वासन दिइएको छ ।’ एकीकृत समाजवादीको विधानमा २१ जना पदाधिकारी बाहेक वरिष्ठ नेताहरु समेत राख्न सकिने व्यवस्था रहेको छ ।

त्यही व्यवस्था बमोजिम वरिष्ठ नेता बनाउने आश्वासन बस्नेतलाई दिइएको छ । तर वरिष्ठ उपाध्यक्षमा निर्विरोध गराउन पहल गरेका नेताहरुले अरु पदमा भने चुनावी प्रतिस्पर्धा हुन दिए । ३४४ जना केन्द्रीय सदस्यबाट निर्वाचित भएर आउने बाटो खुला गरिदिएपछि १७ पदका निम्ति ६७ जनाको उम्मेदवारी पर्‍यो ।

महिला उपाध्यक्षमा जयन्ती राई र रामकुमारी झाँक्रीको उम्मेदवारी पर्यो । मधेशी समुदाय तर्फका उपाध्यक्षमा धर्मनाथप्रसाद साह र रामचन्द्र झाले उम्मेदवारी दिए । चार जना खुला उपाध्यक्षका निम्ति ११ जनाले उम्मेदवारी दिएका छन । चार उपमहासचिव पदका निम्ति १९ जनाको उम्मेद्वारी पर्यो । दलित र जनजाति तर्फको एकरएक सचिवमा तीनरतीन जनाले उम्मेद्वारी दिए ।

५ पदको खुला सचिवमा २७ जनाको उम्मेदवारी परेको थियो । तर शीर्ष नेताहरुले उम्मेदवारी दिएकाहरुलाई स्वतन्त्र प्रतिस्पर्धा हुन दिएनन् । अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भूसाल पक्षका नेताहरुले मतदान गर्नुपर्ने पदाधिकारीको सूची नै बनाएर बाँडेका थिए । उम्मेदवार धेरै भएकाले पटकपटक फरक–फरक सूची बनिरहँदा प्रमुख नेताहरुको नाम छुटेनन् ।

मुख्यगरी महिला उपाध्यक्ष, मधेशी समुदायका उपाध्यक्ष र खुला उपाध्यक्षहरुमा प्रष्ट गुटबन्दी भएको देखीन्छ । अध्यक्ष नेपालका तर्फबाट जारी गरिएको सूचीमा महिला उपाध्यक्षमा रामकुमारी झाँक्रीको नाम राखिएको थियो ।

यद्यपि यही समूहको चर्को सूचीमा रामकुमारी झाँक्री र जयन्ती राई दुवैको नाम थियो । ‘जयन्ती र रामकुमारी जसलाई भोट हालेपनि हुन्छ भनेर एउटा चिट बनाइएको थियो, फेरि रामकुमारीको मात्र राखेर बनाइयो’, एक नेताले भने । रामकुमारीलाई माधव नेपाल तर्फको सूचीमा राखिएपछि जयन्ती राईको नाममा घनश्याम भूसाल पक्षका नेताहरुले मत मागे ।

मधेशी समुदायको उपाध्यक्षमा माधव नेपाल समूहले रामचन्द्र झालाई मत मागे भने धर्मनाथप्रसाद साहलाई भूसाल पक्षका नेताहरुले मत मागे । बाँकी चार खुला उपाध्यक्ष पदमा माधव नेपाल पक्षले डा।गंगालाल तुलाधर, जगनाथ खतिवडा, उर्वादत्त पन्त र विरोध खतिवडाको नाम राखेको थियो । खतिवडा र तुलाधर यसअघि उपमहासचिव थिए ।

खतिवडा र तुलाधरसँगै उपमहासचिव रहेका डा.विजयकुमार पौडेल र प्रकाश ज्वाला भने महासचिव भूसालको समूहमा उभिए । ‘माधव नेपालको सूचीमा नपरेपछि उहाँहरु स्वतः फरक टीमबाट उम्मेदवार हुनुभयो’, महासचिव भूसाल निकट एक नेताले भने ।

भूसाल समूहले अर्का उपाध्यक्षमा भानुभक्त जोशीको नाम राखेको छ । गत १६–२१ असारमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनकै क्रममा यस्तो पक्षधरता देखिएको थियो । घनेन्द्र बस्नेत, जयन्ती राई, धर्मनाथप्रसाद साह, विजय पौडेल, प्रकाश ज्वाला, जीवनराम श्रेष्ठहरु नेतृत्व परिवर्तनको पक्षमा उभिएका थिए ।

उनीहरुले घनश्याम भूसाललाई अध्यक्ष बनाउन लबिङ गरेको स्रोतले जानकारी दिएको छ । तर अध्यक्ष, सम्मानित नेता र महासचिव पदमा निर्विरोध भयो । महाधिवेशन हलकै चाहना निर्विरोध नेतृत्व चयन होस् भन्ने रहेको भन्दै अध्यक्ष मण्डलका अध्यक्ष रहेका झलनाथ खनालले तीन पद घोषणा गरेका थिए ।

अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा आफैं र महासचिवमा भूसालको नाम घोषण गरेर बाँकी पद यी तीन जनाले टुंग्याउने भनेका थिए । जसअनुसार, तत्कालीन पोलिटब्यूरोमा रहेका ९३ जनालाई केन्द्रीय सदस्य मनोनीत गरिएको थियो । महाधिवेशन सकिएको एक महिनापछि गत १८ साउनमा थप २५१ जना केन्द्रीय सदस्य मनोनीत गरेर ३४४ सदस्यीय केन्द्रीय कमिटीको नाम सार्वजनिक गरिएको थियो ।

यसरी महाधिवेशनबाट निर्विरोध नेतृत्व टुंग्याउने क्रममा अध्यक्ष नेपालसहित नेताहरुले भर्खरै बनेको पार्टीमा चुनाव गराउन नहुने तर्क गरेका थिए । तर आइतबारदेखि सुरु भएको केन्द्रीय समितिमा बैठकमा पदाधिकारी र पोलिटब्यूरो छान्न मतदानको प्रक्रिया अवलम्बन गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us